
ट्रेन द्रुतगतिले सिकागो गइरहेछ। क्रिस्टिना वारेन आफ्नो पुरुष साथी सेन फेन्ट्रेससँग बोलेकी बोल्यै छन्। तर सेन केही बुझिरहेको छैन। ऊ क्रिस्टिनासँग झ्वाँकिएर भन्छ, ‘म तिमीलाई चिन्दिन, तिमी किन मसँग चिनेकोझैँ गरी बोलिरहेकी छौ?’
‘तिमीलाई के भयो सेन, तिमी किन यस्तो भनिरहेका छौ, के तिमीलाई सन्चो भएन?’ क्रिस्टिना सेनसँग भन्छे।
सेन झ्वाँकिदै भन्छ, ‘म सेन होइन। म अमेरिकी सेनाको अफगानिस्तानमा ‘पोस्टेड’ हेलिकप्टर पाइलट क्याप्टन कोल्टर स्टिवन हुँ।’
अब सेन अथवा कोल्टर ट्रेनको ‘बाथरुम’ मा गएर एेना हेर्छ। ऊ आन्तिन्छ, उसको स्मृति अथवा चेतना अनुसारको अनुहार एेनामा हुँदैन। अनुहारले अब ऊ सेन हुन्छ तर ऊसँग चेतना भने कोल्टरको हुन्छ।
केही बेरमै ट्रेनमा बम विस्फोट हुन्छ। ट्रेनमा रहेका सबै यात्री मारिन्छन्।
अव कोल्टर एउटा ‘क्याप्सुलमा’ ब्युँझिन्छ। एउटा आधुनिक ‘ल्याब’ मा रहेकी कालिन गुडविन कोल्टरको चेतना फर्काउने कार्यमा तल्लीन रहेकी हुन्छिन्। ‘क्यामरा’ र ‘कम्प्युटर’ का माध्यमले उनीहरु बीच संवाद भइरहेको हुन्छ।
कोल्टर सोध्छ, ‘म अहिले कहाँ छु? म त अफगानिस्तानमा ‘पोस्टेड’ अमेरिकी सैनिक हुँ। तपाईहरुले मसँग के गराई राख्नुभएको छ?’
गुडविन भन्छिन्, ‘क्याप्टन, तिमीलाई एउटा नयाँ ‘मिसन’ मा पठाइएको छ। जुन ट्रेनमा तिमी केही पहिला यात्रा गरिरहेका थियौं, त्यो ट्रेनमा कसैले बम राखेको छ, तिमील त्यो बम राख्ने मान्छेलाई चिन्नु छ। अहिले तिमी त्यो ‘बाम्बर’लाई समात्ने ‘मिसन’ मा खटिएका छौं।’
तर त्यो ट्रेनमा ‘बम ब्लास्ट‘ त भइसक्यो। अब त्यो ‘बाम्बर’ लाई कसरी समाउन सकिन्छ ? कोल्टरले ‘गुडविन’सँग सोध्छ।
तिमी त्यसको फिक्री नगर। यो ‘मिसन’ का ‘चीफ’ डा. रुटलेघले ‘क्वान्टम मैकेन्किस’ बाट ‘अल्टरनेटिभ टाइम रियलिटी’ ‘कालचक्र’ बनाएका छन्। यसको मदतले हामी तिमीलाई पुनः त्यही ट्रेनमा पठाउन सक्छौँ। तिमीले यस पटक कुशलतासाथ त्यो ‘बाम्बर’ लाई चिन्नु छ। तर याद गर तिमीसँग जम्मा आठ मिनेटको समय मात्रै हुन्छ।
माथि वर्णित सबै दृश्य वेन रिप्ले लिखित एवम् ‘डाइरेक्टर’ डन्कन जोन्स निर्देशित ‘साइन्स फिक्सन फिल्म’ ‘सोर्सकोड’ का हुन्।
यस फिल्ममा लेखकले ‘क्वान्टम मैकेनिक्स’ समय यात्रा, अल्टरनेटिभ रियलिटी’ चेतना प्रत्यारोपण जस्ता वर्तमानमा सम्भव नभएका विषयलाई सुूत्रबद्ध गर्ने कल्पना गरेका छन्।
दुई महिना पहिला अफगानिस्तानमा भएको ‘हेलिकप्टर’ दुर्घटनामा पाइलट कोल्टर स्टिवन मारिन्छन्। उनको पार्थिव शरीर पनि आधा मात्रै भेटिन्छ। त्यसलाई एउटा ‘बक्स’ मा सुरक्षित राखिन्छ।
सिकागो गइरहेको ट्रेनमा क्रिस्टिना वारेन र उनका पुरुष साथी सेन फेन्ट्रेस बम विस्फोटमा मारिन्छन्।
डा. रुटलेग र उनको टिमले दुर्घटनामा परेका सेन फेन्ट्रेसको ‘ब्रेन डेथ’ हुनु भन्दा पहिला उनको चेतना पाइलट कोल्टरमा प्रत्यारोपण गरी दिन्छन्।
डा. रुटलेधको सिद्धान्त अनुसार “अल्टरनेटिभ रियलिटी” मा यो चेतना आठ मिनेट सम्म काम गर्छ।
लेखकले यहाँनिर ‘मेडिकल साइन्स’ को एउटा सिद्धान्तमा टेकेका छन्। मृत्यु पश्चात पनि मृतकको मस्तिष्क आठ मिनेट सम्म जीवित रहन सक्छ।
आइन्सटिनको ‘स्पेसल रिलेटीभिटी थ्योरी’ र ‘जनरल रिलेटीभिटी थ्योरी’ पश्चात वैज्ञानिकहरुका लागी समयबारेको शास्त्रीय एवम् न्यूटनकालीन मान्यता बदलिन पुग्यो। दुबै ‘थ्योरी’ ले समयमा अगाडि (भविष्यमा) एवम् पछाडि (भूतकालमा) जानसक्ने सम्भावना परिभाषित गर्छ।
प्रायोगिक रुपमा अहिलेसम्म यो सम्भव नभए पनि सैद्धान्तिक भौतिकविद्हरुका लागि यो अत्यन्त चासोका क्षेत्र रहिआएको छ।
एकथरि वैज्ञानिकहरु बितेको समयमा जान सम्भव छैन भन्ने विश्वास गर्छन्। यसका लागि उनीहरुले ‘ग्राण्ड फादर पैराडक्स’ अघि सार्छन्।
भनाइको अर्थ कसैलाई समयमा पछाडि पुर्याइयो र उसले भूतकालमा गएर आफ्नो अविवाहित हजुरवुआको हत्या गरिदियो भने उसको बुवा र ऊ आफैँ पनि हुन सक्ने आधार नै मेटिन्छ। यही नै ‘ग्राण्ड फादर पैराडक्स’ हो।
अर्काथरि वैज्ञानिकले भन्छन्, ‘कसैलाई समययात्रामा भूतकालमा पठायो भने उसका लागि त्यो एउटा फिल्म सदृश्य हुनेछ, उसले त्यहाँ केही गर्न सक्ने छैन। उसको कृत्यले त्यहाँ कुनै प्रभाव पार्ने छैन।’
फिल्ममा कोल्टरलाई अनेकौं पटक ट्रेनमा पठाइन्छ, बम विस्फोट हुनुको आठ मिनेट पहिलाको समयमा।
हरेक पटक उनी “सस्पेक्ट बाम्वर”लाई चिन्ने प्रयास गर्छन्। एक पटकको प्रयासमा उनी एउटा यात्रीको पिछा गर्दै विस्फोट हुनुपुर्व ट्रेन रोकिएको स्टेशनमा ओर्लिन्छन्। महिला साथी पनि ओर्लिन्छिन्। तर यो यात्री ‘बाम्वर’ हुँदैन। यस यात्रीसँग हातपात हुँदा कोल्टर ट्रेनको ‘लिक’ मा खसेको देखाइन्छ र ट्रेनले किचिएर उनी फेरी ‘क्यापसुल’ मा ब्युँझिन्छन्।
यसपटक कोल्टर ‘कमान्डिग अफिसर’ गुडविनसँग भन्छन्। ‘मैले त्यो ट्रेनबाट एकजना महिलालाई बचाएँ।’
गुडविन भन्छिन्, ‘क्याप्टन तिम्रो काम कसैलाई बचाउनु होइन। ‘दे अल आर अलरेडी डेड’ तिनलाई बचाउने प्रयास गर्नु व्यर्थ हो।
कोल्टर सोध्छन्, ‘के म पनि मरिसकेको हुँ?’
‘तिम्रो मस्तिष्कको केही भाग अझै जीवित छ,’ क्याप्टन गुडविनले उनलाई सम्झाउँछिन्।
यसपछिको प्रयासमा कोल्टर ‘बाम्वर’ ड्रेक फ्रोस्टलाई चिन्न सफल हुन्छन्। उसले अर्को ठाउँमा विस्फोट गराउन प्रयोग गर्ने गाडीसम्म पुग्छन् क्याप्टन कोल्टर। तर ड्रेक फ्रोस्ट उनलाई गोली हानी मारिदिन्छ।
उनी ब्युँझिन्छन्, ‘क्याप्सुल’ मा र गुडविनलाई ड्रेक फ्रोस्टको गाडी नम्बर दिन्छन्। पुलिसले ड्रेक फ्रोस्टलाई समात्छ। देशभरि डा. रुटलेघको कालचक्रका माध्यमले अपराधी समात्ने प्रविधिको सराहना हुन्छ।
कोल्टरले भने गुडविनसँग एकपटक आफूलाई पुनः ट्रेनमा पठाउने अनुरोध गर्छ। गुडविन डा. रुटलेघसँग नभनी कोल्टरलाई ट्रेनमा पठाई दिन्छिन्। यसपटक लेखक र निर्देशकको कल्पनाले अचम्मकै उडान गर्छ। कोल्टरले यसपटक बमलाई ‘डिफ्युज’ गरेर ‘बाम्बर’ ड्रेक फ्रोस्टलाई कैद गर्छन्। र, यसपटक ट्रेनमा बम पड्किँदैन, ट्रेन सिकागो पुग्छ।
‘साइन्स’ र ‘साइन्स फिक्सनमा’ रुचि राख्नेहरुका लागि ‘सोर्सकोड’ फिल्म राम्रो खुराक हो। फिल्म हेर्दै गर्दा तपाईँले आफ्ना दिमाग चलाउने मौका पाउनु हुन्न। फिल्म अलि अलि जटिल छ, निर्देशकले सकभर दृश्याङ्कनको माध्यमले बुझाउने प्रयास गरेका छन्।
धेरै पाठकले २०११ मा ‘रिलिज’ भएको यो फिल्म हेर्नु भएको होला। कतिपयले यो आलेख पढेपछि फिल्म हेर्ने होलान्। यस आलेखमा फिल्मका जटिलता अलिअलि मत्थर पार्ने प्रयास गरेको हुँ। फिल्म हेरिसकेका पाठकसँग यस विषयमा कुनै जिज्ञासा भए चर्चा गर्न यो पंक्तिकार उत्सुक रहनेछ।