
काठमाडौँ – भारतको राजस्थानबाट आएको बालुवा तथा धुलोको असर अहिले पनि कायमै रहेकाले हिले पानी पर्ने तथा वायुमण्डलमा धुलोका कारण मौसम धुम्मिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राजस्थानमा धुले आँधी चल्ने क्रम रोकिए पनि त्यहाँबाट पश्चिमी वायुले ल्याएको बालुवाका कण तथा धुलो नेपालमाथिको वायुमण्डलमा रहेकाले प्रभाव अझै केही दिन रहने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा केही दिनदेखि बालुवाका कण र धुलो मिसिएको फोहोर पानी परेको छ । अहिले पनि यो क्रम जारी रहेको मौसमविद नगरकोटीले जानकारी दिइन् ।
नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायुका कारण आएको धुलो अझै केही दिन बाँकी रहने उनले बताएकी छन् । काठमाडौँ उपत्यकासहित मध्य तथा पूर्वका क्षेत्रमा सोमबार बदली हुने र बेलुका तिर पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै पश्चिमका पहाडी क्षेत्रमा पनि बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद बताए । पश्चिम तराईमा बदली तथा पानी पर्ने सम्भावना कम छ । तर त्यहाँको मौसम भने खुलेको छैन ।
पश्चिमी वायुले ल्याएको धुलोका कारण त्यहाँको मौसम धुम्मिएको छ । मनसुन अहिले निकै कमजोर रहेको र वायुमण्डलमा रहेको धुलो पखाल्ने गरी पानी पर्न नसकेकाले पनि यस्तो समस्या देखिएको हो ।
पूर्वमा दक्षिण पूर्वी वायुको प्रभावका कारण देशका अरु ठाउँमा भन्दा बढी पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिइन् ।