
काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनको उद्धघाटन सत्र सुरू भएको छ।
आगामी चार वर्षे कार्यकालका लागि आज साेमबार हुन लागेको निर्वाचनको उद्धघाटन सत्र सुरू भएको हो।
उद्घाटनको क्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ गहतराजले खेलकुद अन्तर्राष्ट्रिय प्रमुख जनासम्पर्कको क्षेत्र भएको बताएका छन्।
उनले सबै जात, बर्ग र धर्मका मानिसहरू एकै ठाउँमा हुने साझा ठाउँ भएकोले नेपाललाई ‘स्पोर्टस् टुरिजम एरिया’ बनाउनुपर्नेसमेत बताएका हुन्।
उनले भने, ‘यहाँ हुनेखानेको छोरा होस् या हुदाँ खानेको यहाँ सबै समान हुन्छ। यहाँ सबैलाई स्पेश छ। यसलाई झनै व्यवस्थित तथा मजबुद बनाउने काम एन्फाको हो। खेलकुदमार्फत सबै देशसँग राम्रो सम्बन्ध कायम गर्ने र नेपाललाई स्पोर्टस् टुरिजम एरिया बनाउनेतर्फ एन्फाले ध्यान दिनु जरुरी छ।’
यस्तै, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूलो आफ्नो कार्यकालमा आर्थिक स्रोतलाई मजबुद बनाउने र लिग सञ्चालन गर्ने जस्ता महत्वपूर्ण कार्य गरेको बताएका छन्।
जिल्ला स्तरमा पनि लिगहरू सञ्चालन गर्ने कामहरू आफ्नो कार्यकालमा आफूले सरल र सफल ढङ्गबाट आफूले गर्न सकेको उनले दाबी समेत गरेका छन् ।
बुढानिलकण्ठस्थित पार्क भिलेजमा आज हुन लागेकाे निर्वाचनमार्फत एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
यस्तै, फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलसमेत प्रतिस्पर्धामा छन्।
चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ।