
पोखरा – पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरू गरेका छन्।
पूराना र नयाँ किताब किनेर उनीहरूले कर्णाली पठाउन लागेका हुन्। कक्षा १२ को परीक्षा सकेपछि उनीहरूले यस्तो अभियान सुरू गरेका हुन् ।
एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरू गरेको सदस्य देव भुजेलले जानकारी दिए। देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताब संकलन अभियान थालेका छन्।
५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र कापी संकलन गरेर पठाउन लागिएको हो। विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए। हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन्।
‘किताव नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौँ,’ उनले भने, ‘हामीले आफ्नो कर्तब्य पूरा गरेका हौँ।’ किताव र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए।
संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए।