
झरना राई/देश सञ्चार ।
काठमाडौँ – सोमबार बेलुका निधन भएका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि न्यूरो अस्पताल बाँसबारीमा राखिएको छ ।
उनलाई श्रद्धाञ्जली दिन बाँसबारीमा रहेको न्यूरो अस्पतालमा बिहानैदेखि विभिन्न क्षेत्रका मानिस पुगेका छन् । अन्तिम संस्कार मंगलबार दिउँसो २ बजे पशुपतिनाथ परिसरमा रहेको विद्युतीय शवदाहगृहमा हुनेछ । दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिने छ ।
न्यूरो सर्जन देवकोटाको सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा निधन भएको हो । उनी ६५ वर्षका थिए । उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन् । उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन् ।
डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए ।
तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् । त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो । उनी पित्त थैलीको क्यान्सरबाट ग्रस्त थिए ।