
काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारले मृत्यु भएको राति प्रयोग गरेको भनिएको सल भेटिएको छ।
पासोको लागि प्रयोग गरिएको भनिएको उक्त सल दिलमायासँग सम्बन्धमा रहेका भनिएका सूर्य श्रेष्ठले भनेकै ठाउँमा भेटिएको प्रहरी स्रोतले जनाएको छ। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले सुनारको मृत्यु रहस्यमय रहेको बताउँदै अनुसन्धान कार्यलाई तीब्रता दिएको छ।
सूर्यलाई साथमा लिएर अनुसन्धान गर्ने क्रममा महाशाखाको टोलीले उनले भनेकै ठाउँमा खोजी गर्दा उक्त सल भेटिएको हो।
अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार दिलमायाको घाँटीमा पासो लगाउन प्रयोग भएको उक्त सल चक्रपथ, महाराजगन्जस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयनजिकै नालीमा भेटिएको हो। उक्त स्थान घटनास्थलबाट ५ किलोमिटर टाढा पर्छ। यद्यपि सल भेटिए पनि सूर्यले दिलमायाको हत्या भने स्वीकार नगरेको बताएका छन्।
लोकदोहोरी गायिका सुनार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन्।
प्रहरी वृत्त बालाजुका अनुसार उनी शनिबार राति करिब ११ बजे काठमाडौँ नेपालटारस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी हुन्।
३० वर्षीया गायिका सुनार केही लाइभ दोहोरी विशेषतः राजु परियारसँग गाएका गीतले उनलाई निकै चर्चा दिएका थिए। मृतक गायिकाले आफूलाई बाँच्न मुस्किल भएको भन्दै शुक्रबार राति फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् जसले घटना झनै शंकास्पद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको मृत्युको घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
अहिले सुनारको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।