
काठमाडौं- सेयरबजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। साताको चौथो कारोबार दिन नेप्से परिसूचक २१.५३ अंकले घटेपछि १४२५.५१ अंकमा पुग्यो।
बजार खुलेको ४० मिनेटभित्र २४ अंकले घटेको नेप्से परिसूचक अर्को ४० मिनेट २२ अंकले उकालो चढेको थियो। तर, अन्तिम २ घण्टा बजार घट्ने क्रम नरोकिँदा परिसूचकमा दोहोरो अंकको गिरावट आएको हो।
दोहोरो अंकले बजार ओरालो लाग्दा पनि कारोबार रकममा भने सुधार भएको छ। केही सातादेखि ५० करोडको आसपासमा कारोबार भइरहेकोमा बुधबार ७५ करोड ८९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको हो।
नेपाल लाइफ इन्स्योरेन्सको करिब १० करोड बराबरको संस्थापक सेयर किनबेच हुँदा कारोबार रकम बढेको हो। बुधबार नेपाल लाईफ सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी बन्यो।
बुधबार कारोबार भएका १५६ कम्पनी मध्य १६ कम्पनीका लगानीकर्ताले नाफामा रहेका छन्। सबैभन्दा बढी मुल्य बढ्ने कम्पनीको सूचीमा महुली सामुदायिक लघुवित्त संस्था रह्यो।
महुलीको मूल्य करिब १० प्रतिशतले बढेको छ।सबैभन्दा बढी घट्ने कम्पनीको सूचीमा सिन्धु विकास बैंक रह्यो।
सिन्धुको मुल्य करिब ६ प्रतिशतले घटेको छ। उत्पादनमुलुक बाहेकका सम्पूर्ण उपसूचकहरु ओरालो लाग्दा समग्र बजार घटेको हो।
बढ्दो ब्याजदर, तरलता अभावलाई बजार घट्नुको कारणका रुपमा लिईएको छ।