‘विकासका नाममा घरघरमा बाटो पर्‍याउन खोज्दा पहिरोको जोखिम’

‘विकासका नाममा घरघरमा बाटो पर्‍याउन खोज्दा पहिरोको जोखिम’
+
-

काठमाडौँ – मनसुन सुरु भएसँगै बाढीपहिरोजस्ता विपदका घटनाहरु मानवीय व्यवहार परिवर्तन गरेर पनि केही हदसम्म रोक्न सकिने विज्ञले बताएका छन्।

भुगर्भविद् तथा जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका निमित्त आयोजना निर्देशक श्रीकमल द्विवेदी मानिसको क्रियाकलापमा परिवर्तन गर्नसके पहिरो केही हदसम्म रोक्न सकिने बताउँछन्।

‘हामीले मनसुनको समयमा भलहरु जताबाट पनि काटिदिन्छौँ, जसले गर्दा पहिरो जाने सम्भावना धेरै हुन्छ,’ उनी भन्छन्, ‘हामीले स-साना भल तथा खोल्सीहरुलाई मात्रै व्यवस्थित तरिकाले व्यवस्थापन गर्न सक्यौँ भने पनि गाउँघरमा जाने ठूला पहिरो रोक्न सकिन्छ।’

मनसुनको समयमा जाने पहिरोको मुख्य कारण ढल व्यवस्थापन गर्न नसक्नु र स-साना भलहरुलाई व्यवस्थापन गर्न नसक्नु रहेको उनी बताउँछन्। विपद्‌बाट हुने क्षतिबारे स्थानीय जनता धेरै सचेत हुन जरुरी रहेको उनी बताउँछन्।

‘भललाई व्यवस्थित गर्न सकिएन भने त्यसले जमिनमा चिरा बनाउँछ र त्यहीँबाट पहिरो जान सुरु गर्छ,’ उनी भन्छन्, ‘बाढी, पहिरोजस्ता प्रकोप कुनै एक निश्चित स्थानमा मात्रै जाने हो। त्यसैले जुन ठाउँ बढी प्रभावित छ, त्यहाँका मानिसहरु बाढी, पहिरो आउन नदिन के गर्न सकिन्छ भन्नेबारे सचेत रहनुपर्छ।’

प्रकोप हुनुभन्दा पहिले नै त्यसबाट कसरी बच्ने भन्नेबारे सोच्न आवश्यक रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘बाढी पहिरोजस्ता प्रकोपबाट बच्न पहिलेबाट नै मानिसहरुले चासो दिनुपर्छ र मात्र केही हदसम्म रोक्न सकिन्छ।’

नेपालमा वर्षेनी बाढी पहिरो जान्छ। जब मनसुन सुरु हुन्छ, तब बाढी पहिरो जस्ता घटनाहरुबाट हुने क्षतिका बारेमा धरै सुनिने गरिन्छ।

नेपालमा बर्षेनी बाढी पहिरोकै कारण थुप्रै मानिसहरुले ज्यानसमेत गुमाउने गरेका छन्। वर्षा सुरु भएसँगै देशभरमा विभिन्न स्थानमा बाढी तथा पहिरोले क्षति पुर्‍याउन सुरु गरिसकेको छ।

‘हामी पहिलेदेखि नै भिरालो जमिनमा समेत बस्दै आएका छौँ। भिरालो जमिनमा खेती गर्दै आएका छौँ,’ उनी भन्छन्, ‘ठूलो पहिरोको छेउमा कुलो लगेर धान रोपेर खान खोजेपछि त समस्या भइहाल्छ।’

पहिरो जानुको अर्को मुख्य कारण विकास रहेको उनी बताउँछन्। विकासका नाममा हरेक घरघरमा पुर्‍याइएको बाटो निर्माणको क्रममा ध्यान नदिँदासमेत पहिरोको जोखिम बढेको उनको तर्क छ।

‘हामी सडक बनाउँछौँ, एउटै पहाडमा तीन वटासम्म, टो टोलमा, घरघरमा बाटो चाहिन्छ हामीलाई। अहिले सिंहदरबार गाउँगाउँ पुगेपछि त झन् विकास भनेको बाटो नै हो भनेजस्तो भएको छ,’ उनी भन्छन्, ‘हामीले यसरी बाटो बनाउँदा बिग्रिएका संरचनालाई ध्यान दिँदैनौँ। बाटो बनाउँदा पुरिएका खोल्साहरु खुलाउन प्रयास गर्दैनौँ। त्यति भएपछि त त्यो पानीले बाटो फेर्छ र पहिरो जाने नै भयो नि!’

विकास निर्माणका नाममा बनाइएका बाटोलगायतका संरचना निर्माण गर्दा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। पहिरो नियन्त्रणका लागि अर्को उपाय एकीकृत बस्ती निर्माणसमेत रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘जहाँ पहिरोको जोखिम कम भएको छ, त्यहाँ बसोबास गराउने। पहाडमा अहिले भएकै अवस्थामा हरेक घरमा बाटो पुर्‍याउन सकिँदैन। यस्तो कार्य रोक्नुपर्छ।’

बाढी जान हिमताल नै फुट्नुपर्छ भन्ने नरहेको बताउँदै अन्य कारण पनि हुने उनी बताउँछन्। बाढी, पहिरो नियन्त्रणका लागि तथा यसको जोखिमबाट बच्नका लागि केही प्रयासहरु भए पनि पर्याप्त नहुने उनी बताउँछन्।

‘नीति नियम बनाएर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा लागु गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘बाटो बनाउँदा पुरिएका खोल्साहरु खोल्नुपर्छ भनेर त पक्कै थाहा होला तर थाहा भएर मात्र के गर्नु र खै यतिकै छोडिदिन्छन् निर्माण गर्नेहरुले।’

त्यस्तै बाढी पहिरोबाट बच्न सम्बन्धित क्षेत्रका व्यक्तिहरुलाई उनीहरुकै भाषाबाट बुझाउनसमेत जरुरी रहेको उनी बताउँछन्।

‘नेपाल एक बहुभाषिक देश हो। त्यसैले पनि हामीले जुन ठाउँ प्रकोपबाट बढी जोखिम छ, त्यो ठाउँका मानिसहरुलाई उनीहरुकै भाषामा प्रकोपबाट हुने क्षति, बच्ने उपाय, प्रकोप न्युनीकरणजस्ता विषयमा जनचेतना जगाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘जस्तो कि– कुनै एक थारु समुदाय भएको स्थानमा पहिरोको सम्भावना छ भने त्यहाँ नैपाली भाषाबाट जनचेतना जगाएर खासै प्रभावकारी हुँदैन। त्यसैले हामीले जनचेतना जगाउने कुरामा भाषालाई ध्यान दिन आवश्यक छ।’

मानिसहरुका यस्तै स-साना बानीहरुमा सुधार गरेर पहिरोको जोखिमबाट बच्न सकिने उनले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?