पोखरा- पोखरामा पुस १९ देखि २२ गतेसम्म पोखरामा राखेप च्याम्पियनसिप राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ।
नेपाल ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए।
प्रतियोगितामा दुई विभागीय र पाँच विकास क्षेत्रका पाँच गरी महिला तथा पुरुष तर्फ ७/७ टिमको सहभागिता हुनेछ। हङकङ ब्युटी इन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको दुई विभागीयसहित पाँच विकास क्षेत्रका १/१ गरी महिला तथा पुरुष तर्फ ७/७ टिम हुने जनाइएको छ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०/३० हजार, उपविजेतालाई २०/२० हजार र तेस्रो हुनेलाई १०/१० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने संघ कास्कीका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङको जानकारी दिए।
खेलबाट महिला सशक्तीकरणलाई जोड दिनका लागि इन्स्टिच्यूटले मुख्य प्रायोजन गरेको इन्ष्टिच्युटकि प्रोपाइटर मिना गुरुङले बताइन्।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औँ साग खेलका लागि खेलाडी छनौट गरिने हुँदा यो प्रतियोगिता महत्वपूर्ण रहेको संघका सचिव केशव पाठकले बताए। प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई वर्ल्डभिजन मोबाइल प्रदान गरिने भएको छ। २२ लाख रुपैयाँमा उक्त प्रतियोगिता सम्पन्न गरिने भएको संघले जनाएको छ।