
काठमाडौँ– नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। बैठक सकिएसँगै कांग्रेसले निर्णयहरु सार्वजनिक गरेको हो।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ। आगामी चुनावपछि पाँच वर्ष चल्ने स्थीर सरकार बनाउने पनि कांग्रेसले दाबी गरेको छ।
कांग्रेसले ‘कांग्रेसलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग आपसी संवाद गरी चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गर्दछ,’ भनेको छ।