
काठमाडौँ- काठमाडौंको जोरपाटीमा बिहान करिब १० बजेबाट लेदो माटो र पानीसहितको फोहोरा निस्किरहेको छ।
स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी जनाएको हो।
फोहोरा वरपरका घरभन्दामाथिसम्म पुगेको प्रहरी वृत्त बौद्ध प्रमुख डीएसपी ढुण्डीराज न्यौपाने बताएका छन्। उनका अनुसार हिलोमाटोसहितको पानीका कारण उक्त स्थान भएर हिँड्ने यात्रु तथा स्थानीयलाई भने समस्या भएको छ।
यसबारे अध्ययनका लागि प्रहरीले खानी विभागका अधिकारीहरुलाई देखाइसकेको प्रहरीले बताएको छ ।
त्यसरी निस्किएको पानीसहसतको लेदो माटो मिथेन ग्यासका कारण निस्किएको बरिष्ठ भुगर्भविद् एवम् खानी तथा भुगर्भ विभाग अन्तर्गत ग्यास शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले बताएका छन्।
उनका अनुसार काठमाडौँको धेरै स्थानहरुमा जमिनमुनि पानीमा मिथेन ग्यास मिसिएको र पानी बोरिङ गर्ने क्रममा उक्त ग्यास बाहिर आएको हो।
यसरी निस्किएको ग्यासलाई रोक्न नमिल्ने उनले बताएका छन्।
‘यसरी जमिनबाट आफै निस्किएको ग्यासलाई हामीले रोक्न मिल्दैन। यो मिथेन ग्यास हो। काठमाडौँको धेरै स्थानमा मिथेन ग्यास छ भनेर यसअघि पनि भनिरहेको कुरा हो,’ उनी भन्छन्, ‘जहिलेसम्म ग्यास निस्कि सक्दैन हामीले केही पनि गर्न सक्दैनौँ। यसलाई रोक्ने भन्ने हुँदैन। यसलाई रोक्ने कुरा असम्भव हो।’
निस्किरहेको ग्यासलाई केही बेर थुने पनि अर्को ठाउँबाट निस्किएर झनै भयानक रुप लिन सक्ने भएकाले रोक्न नसकिएको उनले बताएका छन्। ग्यास निस्किएसम्म कुरेर बस्नु भन्दा अरु विकल्प नरहेको उनी बताउछन्।
यसरी निस्किएको हिलो र लेदोबाट कुनै मानवीय क्षति भने भएको छैन। यद्यपि उक्त निस्किएको माटोसहितको पानीको फोहोरामा ग्यास मिसिएका कारण आगलागी जस्तो अप्रिय घट्ना हुन नदिन स्थानीयलाई सचेत गराइएको श्रेष्ठले बताएका छन्।
तस्बिरहरु: सुलभ श्रेष्ठ