काठमाडौं– नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला शुक्रबार २१ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ। हेटौंडामा तीन दिनसम्म चलेको भेलामा जिल्ला सभापातिहरुले नेतृत्वको चर्को आलोचना गरेका छन्। कांग्रेस सुधारको थालनीका रुपमा भेलालाई चित्रित गरे पनि गुटगत आधारमा भेलामा धारणा प्रस्तुत भएका छन्। यसले गर्दा सभापति भेला चुनावी समीक्षा, पार्टी सुधार विषयमा गम्भीर छलफल भन्दा पनि देशभरका कांग्रेस नेता कार्यकर्ता जमघट हुने अवसरका रुपमा रुपान्तरण भएको टिप्पणी भइरहेको छ। सभापति भेलाका उपलब्धि र यसले कांग्रेस सुधारमा पार्ने प्रभावका विषयमा प्रकाश ढकालले बर्दियाका कांग्रेस सभापति तथा पूर्वमन्त्री सञ्जय गौतमसँग कुराकानी गरेका छन्।
सभापति भेला जुन उद्देश्यका लागि बोलाउन दबाब दिनुभएको थियो। त्यो पूरा भयो ?
अहिलेको अवस्थामा सभापति भेला आवश्यक थियो। यसले पार्टी सुधारका लागि दबाबमूलक काम गर्छ भन्ने अपेक्षा गरेका थियौं। कांग्रेस तीनै तहको चुनावपछि कमजोर अवस्थामा पुगेको छ। हाम्रा संगठन पनि कमजोर भएका छन्। यतिबेला कांग्रेसलाई शसक्त भूमिकामा लैजान जरुरी छ। विगतमा जे भयो भयो भनेर पार्टीलाई कसरी प्रभावकारी बनाउने, सशक्त प्रतिपक्षको भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो। जिल्ला सभापतिहरुले पार्टीलाई राम्रोसँग बुझेका छन्। टिकट वितरणमा भएका कमजोरी, चुनावी हारमा भएको कमजोरीका बारेमा उनीहरु जानकार छन्। हामीले चाहेको केन्द्रीय नेताहरुसँग बसेर छलफल गर्न खोजेको हो। त्यो पूरा भएको छ। कांग्रेसमा भएको गुटबन्दी कसरी अन्त्य गर्न सकिन्छ? कांग्रेसलाई कसरी उर्जावान बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने अवसर पायौं।
तपाईंले भनेको गुटबन्दी अन्त्य र उर्जावान कांग्रेस बनाउन भेलाले सहयोग गर्यो त?
उकुसमुकुसको अवस्था थियो। नेताहरुको अगाडि वास्तविक कुरा भन्न हिच्किचाउने अवस्था थियो। यो भेलाले एउटा सहज वातावरण निर्माण गरेको छ। आफूलाई लागेको कुरा निर्धक्कसँग भन्ने सहज अवस्था बनायो। पार्टीको तल्लो तहमा भएका कुरालाई हामीले गम्भीरता पूर्वक भनेका छौं र उहाँहरुले पनि गम्भीरता पूर्वक सुन्नुभएको छ। यथास्थितिमा हामी अघि बढ्न सक्दैनौं। नयाँ नीति, नयाँ सोच कायम नगरी यही शैली र यही नेतृत्वले अगाडि जान सक्ने अवस्था छैन। केन्द्रीय अधिवेशन आउन अझै दुई वर्ष बाँकी छ। यो अवधिमा बाहिर बसेर छलफल गरेर मात्र हुँदैन, सामाजिक सञ्जालमार्फत धारणा राखेर हुँदैन, पार्टीभित्र पनि छलफल गर्न आवश्यक छ भनेर भेला आयोजना गरिएको हो। भेलापछि नेताहरुलाई हामीले गल्ती कहाँ गयौं, कहाँ चुक्यौं भन्ने महसुस भएको छ। आउँदो दिनमा उहाँहरुले आफूलाई करेक्सन गरेर लैजानु हुन्छ। कांग्रेस बलियो नभई हाम्रो भविष्य छैन र कांग्रेसलाई यथास्थितिमा छाड्न पनि सक्दैनौं। हामीलाई विश्वास छ कांग्रेस अब नयाँ ढंगबाट अघि बढ्छ।
भेलाले चुनावी हारको वस्तुगत छलफल गर्ला, पार्टी सञ्चालनका क्रममा भएका कमीकमजोरीलाई केलाउला भन्ने अपेक्षा गरे पनि गुटगत आधारमा रेडिमेट धारणा राख्ने क्रम त रोकिएन, यो कांग्रेस सुधारको संकेत हो र?
पार्टीभित्र कतिपय व्यक्ति अतिवादी सोच भएका पनि छन्। हामीलाई के थाहा छ भने कांग्रेसको विधानअनुसार जिल्ला सभापति भनेको महत्वपूर्ण निर्णय लिने आधिकारिक निकाय होइन। यसका लागि त हामीले महासमितिको बैठक र महाधिवेशन नै कुर्नुपर्छ। महासमितिको बैठक भन्दा पहिला ‘वार्म अप’ मात्र हो जिल्ला सभापति भेला। देशहरुको परिस्थिति हो छ है भनेर नेताहरुलाई जानकारी मात्र गराइएको हो। हामी कुनै निर्णय गर्ने निकाय होइन। संगठनको आधारमा बसेको हुनाले प्रदेशमा पार्टी छैन, क्षेत्रमा पार्टी छैन, वडामा पार्टी संगठन छैन, यो विषयमा तपाईंहरु चुक्नु भयो भनेर नेतृत्वलाई भन्यौँ। चुनावअघि नै संघीय संरचनाअनुसार पार्टीलाई लैजानु पर्थ्यो। यो कस्को गल्ती त? हामीले भेलामा भन्यौँ- स्थानीय तहमा टिकट वितरणमा जिल्लासभातिको भूमिका नजरअन्दाज गरियो। हाम्रो उद्देश्य केन्द्रलाई कमजोर बनाउने, नेताहरुलाई असहयोग गर्ने होइन तर जहिले जे गरे पनि स्वीकार गर्नुपर्ने, टाउको हल्लाउन सक्दैनौं भनेर भेलामा भनेका छौं।
हेटौंडा भेलामार्फत नेतृत्वलाई २१ बुँदे महत्वपूर्ण सुझाव दिनुभएको छ, ती सुझाव कार्यान्वयन हुनेमा आशावादी हुनुहुन्छ? किनकी यसअघि नेतृत्वले यस्ता सुझाव सुनेको नसुन्यै गरेको थियो!
सभापति, वरिष्ठ नेता महान्त्री र सबै केन्द्रीय समितिका अगाडि हामीले जे देखेका छौं, जे भोगेका छौं त्यो जस्ताको त्यस्तै राखेका छौं। नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक होला, जिल्ला सभापतिहरु यति धेरै खुलेर धारणा राखेको। साथीहरुमा के देखिएको थियो भने अब पनि नबोले हुँदैन भन्ने भयो। बिरालाको घाँटीमा कस्ले घण्टी बाँध्ने भन्दा हामी सभापतिहरु अघि सरेका हौं। कार्यक्रम राम्रो भएको छ, प्रभावकारी भएको छ। हामीलाई विश्वास छ नेताहरुले सुझावलाई गम्भीरता पूर्वक लिनुहुनेछ। हामीले भनेका छौं, अब यसरी चल्दैन, पार्टीलाई निकास दिनुहोस्। गुटबन्दीलाई अन्त्य गर्नुहोस्। नेता नेताका मान्छे बनेर कांग्रेसको मान्छे खोज्नुपर्ने अवस्था आइसकेको छ। अब यो अवस्था फेरिनुपर्छ।
हेटौंडासम्म पुग्दा शीघ्र महाधिवेशनको विषय सेलायो नि किन?
हामी विधि र प्रक्रियामा विश्वास गर्छौ। मनलाग्दी ढंगले पार्टी चलाएर हुँदैन। यो विषय उठको हो। तर, म व्यक्तिगत रुपमा शीघ्र महाधिवेशनको पक्षमा छैन। म समयमै महाधिवेशन होस् भन्ने पक्षमा छु। अर्को वर्षदेखि नियमति महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। अहिले नै शीघ्र महाधिवेशनमा जानु भएको गलत परम्पराको थालनी गर्नु हो। त्यसकारण अब तल्ला तहबाट अधिवेशन थायौं भने ठीक समयमा महाधिवेशन हुन्छ। यसले कांग्रेसलाई बलियो बनाउँछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































