
काठमाडौँ– साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई शुक्रबार विदाइ गरिएको छ। एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाइ गरिएको हो।
भारतको भुवनेश्वरमा हुनेसाफ यु–२० टोलीलाई एन्फाले बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित केही एन्फा पदाधिकारी बिदाइ गरे।
बिदाइपछि बोल्दै सदस्य सचिव टंकलाल घिसिङले लामो प्रक्रियाबाट प्रशिक्षको मिहिनेतबाट छनोट भएको टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।
कसैलाई खुशी बनाउँदा भन्दा पनि देशलाई खुशी बनाउन खेलाडी खेलप्रति कटिवद्ध हुने पर्ने अहिलेको खेलकुदको आवश्यकता भएको भन्दै घिसिङले साफ यु–२० मा सहभागि हुन गएको टोलीलाई सफलताको शुभकामना दिए।
त्यस्तै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले विगतको उमेर समूहले ल्याएको नतिजालाई भत्काउँदै इतिहास रच्ने मौका भएको भन्दै शुभकामना दिए।
एक सात हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोली दिउँसो भारत प्रस्थान गर्ने तालिका रहेको छ। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्।
च्याम्पियनसिपका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले यस अघि नै २३ सदस्यीय युवा टोलीको घोषणा गरेका छन्।
प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्ने छन्। यस्तै विभागीय टोलीसँगको अभ्यास खेलमा चोटग्रस्त भएका दीपेश राईको स्थानमा फरवार्ड रोहित सुब्बालाई टिममा डाकिएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले फरवार्ड रोहितलाई टिममा बोलाईएको जानकारी गराए।
मुख्य प्रशिक्षक केसीले घोषणा गरेको २३ सदस्यीय टोलीमा रोहित अटाएका थिएनन्। रोहित ३० सदस्सीय टोलीमा भने अटाएका थिए।
चोटग्रस्त दीपेश कम्तिमा ३ महिना मैदान बाहिर रहने छन्। कुर्कुचामा समस्या देखिएपछि उनको उपचार बी एण्ड बी अस्तपतालमा उपचार भइरहेको छ।
च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ। त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका रहेको छ।
शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा छ।