
काठमाडौँ–कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले व्यवसायी तथा सञ्चार उद्यमी अजेयराज सुमार्गीद्वारा आफूबिरुद्ध लगाएको बार्गेनिङको आरोप आधारहीन भएको बताएका छन्।
कान्तिपुर दैनिकले आफूविरुद्ध समाचार लेखेर बार्गेनिङ गरेको आरोप लगाएर शान्ति सुरक्षाको माग गर्दै सुमार्गीले काठमाडौं जिल्ला प्रशासनमा बुधबार निवेदन दिएका थिए।
सुमार्गीले निवेदनमा कान्तिपुरका सञ्चालक कैलाश सिरोहियाले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रशारण गरेको दाबी गरेका छन्।
यसबारे प्रतिक्रिया दिँदै सिरोहियाले देशसञ्चारसँग भने, ‘उहाँले उजुरी दिइसकेपछि यसको पूर्ण छानबिन हुनुपर्छ, त्यसपछि दोषी उहाँ हो वा म हो भन्ने थाहा हुन्छ।’
कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सिरोहियाले सुमार्गीसँग तीन वर्षयता आफ्नो भेट नभएको उल्लेख गर्दै छानबिनपछि उजुरीको सत्यतथ्य खुल्नेमा आफू विश्वस्त रहेको बताए।
सुमार्गी थाहा सन्चार नेटवर्कका मालिक हुन्। कान्तिपुरको बार्गेनिङ अस्वीकार गरेपछि आफूविरुद्ध सुनियोचित समाचार लेखिएको सुमार्गीको दाबी छ।
कान्तिपुर दैनिक र कान्तिपुर समूहका अन्य प्रकाशन तथा प्रसारण संस्थाले पछिल्लो समय सुमार्गीसँग सम्बन्धित समाचारहरु प्रकाशन तथा प्रसारण गर्न थालेपछि उनी आफू असुरक्षित भएको दाबीसहित प्रशासनमा पुगेका हुन्।
ती समाचारले आफ्नो सामाजिक तथा व्यवसायिक मान प्रतिष्ठामा क्षति पुर्याउँदै आएको र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै सुरक्षासमेत माग गरेका छन्।