
काठमाडौँ- निहारिका राजपूत ‘कुमारी आमा’ लाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई नियन्त्रणमा लिएको हो।
आफू बलात्कृत भएको र प्रशासनले कानुनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको बताएका छन्।
उनी भन्छन्, ‘निषेधित क्षेत्रमा ब्यानर बोके अनसन बस्न पुगेपछि त्यहाँ नबस्न भन्दै नियन्त्रणमा लिइएको हो।’
वसन्तपुरमा अनसन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको भन्दै सर्वोच्च परिसरमा ब्यानरसहित अनसनका लागि आएकी हुन्। दुई वर्षको छोरासहित आएकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको हो।
उनी यसअघि पनि बसन्तपुरमा आमरण अनसन बसेकी थिइन्।
२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन्।
तर, लामो समय बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूत निरन्तर अनसन बस्दै आएकी छिन्।
अनसनमा उनले पाँच बूँदे माग राखेकी छन्। उनले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्नेलगायत माग राखेकी छन्।