काठमाडौं- भन्सारलाई प्रविधिमैत्री बनाउन १३ वर्षअघि चीन सरकारले दिएका भेइकल स्क्यानर मेसिन प्रयोगमा नआउँदै काम नलाग्ने भएका छन्।
चीन सरकारले नेपाललाई दिने सहयोग अन्तर्गत एउटाको करिब २१ करोड रुपैयाँ परेका दुईवटा भेइकल स्क्यानर मेसिन दिएको थियो।
‘हाम्रोमा भन्सार डिजीटलाइजेसनको प्रक्रिया चलिरहेको थियो,’ त्यसबखत भन्सार विभागका महानिर्देशक रहेका कृष्णहरि बास्कोटाले भने, ‘भन्सार डिजिटलाइज भएसँगै चेक जाँच प्रणाली पनि आधुनिक बनाउनु पर्छ भन्दै चीन सरकारले नेपाललाई स्क्यानर मेसिन दिएको थियो।’
आसिकुडा (अटोमेटेड सिस्टम फर कस्टम डाटा) पल्सबाट सुरु भएको भन्सार डिजिटलाइजेसन प्रणाली हाल आसिकुडा वर्डमा पुगेको छ तर चीन सरकारले निशुल्क दिएका मेसिनहरु भने काम नलाग्ने भएका छन्।
हरेक ३ सेकेण्डमा देशभरि कति भन्सार राजस्व उठ्यो भनेर हेर्न सकिने प्रणाली विकास हुँदा पनि भन्सार चेक जाँच भने पुरानै ढर्राले चलिरहेको छ।
एकदिनमा २ हजार भन्दा बढी मालबाहक ट्रक निकासी हुने बीरगञ्ज भन्सारका अधिकृतले ट्रकमा के छ भन्ने आँखाले हेरेर थाहा पाउनु पर्ने अवस्था छ।
ठूला मालबाहक गाडी नै स्क्यान गर्न सकिने भेइकल स्क्यानर मेसिनले भन्सार चेक जाँचलाई आधुनिक बनाउने अपेक्षा गरिएको थियो। तर अर्थ मन्त्रालय र भन्सार विभागको उदासीनताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बीरगञ्जको सुक्का बन्दरगाहामा रहेका राखिएका भेईकल स्क्यानर मेसिन राम्ररी सञ्चालनमा आउन सकेनन्।
मेसिनले भन्सार छली गर्न खोज्ने व्यापारी र घुस खान खोज्ने कर्मचारीलाई निरुत्साहित गर्न सक्थ्यो।
स्क्यानर मेसिनको फिचरबारे बास्कोटाले भने, ‘गाडीमा के के छ, कस्तो सामान छ कति परिणाम छ भन्ने थाहा हुन्थ्यो जसले गर्दा भन्सार अधिकृतलाई निकै सजिलो हुन्थ्यो। केही समय बीरगञ्जमा स्क्यानर मेसिन चलेको पनि थियो।’
सरकारले भेइकल स्क्यानर मेसिन चलाउने तालिम लिन केही कर्मचारीलाई चीन पनि पठाएको थियो। कर्मचारी ३ महिने तालिम लिएर पनि आए तर मेसिन भने नियमित चलाएनन्।
आजको प्रविधिको समयमा पनि भन्सारमा जाँचकीले कुनै सामानमा शंका लागे एक एक गरी हेर्ने गर्छन्। केही गल्ती नै नगरेको भए पनि जाचँकीलाई लागेको शंकाले व्यापारीलाई दुख हुन्छ। तर साँच्चिकै व्यापारीले गल्ती गरेको अवस्थामा जाँचकीलाई शंका नलाग्दा अवैध तबरले सामान भन्सारबाट भित्रिने गर्छ।
भेइकल स्क्यानर मेसिन पूर्ण कार्यान्वयनमा आएको भए अनियमितता गर्नेलाई नियन्त्रण गर्न र भन्सार अधिकृतलाई काम गर्न निकै सजिलो हुने थियो।
तर उच्च सरकारी अधिकारीको चरम उदासीनताले सहयोगमा आएका मेसिन राम्ररी प्रयोग नहुँदै काम नलाग्ने अवस्थामा पुगेका छन्।
मेसिन चलाउन कहिने बिजुली नभएको त कहिले प्राविधिक नभएको बहाना बनाइयो तर पदमा भएका सरोकारवालाले समस्या समाधानका लागि कहिल्यै अग्रसरता देखाएनन्।
भन्सारको महानिर्देशक पछि राजस्व सचिव र अर्थ सचिव भएका बास्कोटा स्क्यानर मेसिन सञ्चालन उच्च प्रशासकको प्राथमिकता नपरेको स्वीकार गर्छन्।
अहिले सरकारले २०६२ सालमा ल्याइएका ती मेसिनहरु हटाउने तयारी गरेको छ।
सरकारले बीरगञ्ज भन्सार कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका भेइकल स्क्यानर मेसिन हटाउँदै चीन सरकारकै सहयोगमा नयाँ भेइकल स्क्यानर मेसिन जडान गर्नै तयारी गरेको हो।
राजस्व सचिव शिशिर ढुगांनाले मुख्य मुख्य नाकाहरुमा भेइकल स्क्यानर मेसिन राख्ने बिषयमा चीन सरकारका प्रतिनिधिसँग कुराकानी भइरहेको जानकारी दिए।
पहिलो चरणमा बीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज र बीरगञ्ज सुक्काबन्दरगाहा भन्सारमा स्क्यानर मेसिन जडान गर्ने सरकारको तयारी छ।
बिगतमा के भयो भन्दा पनि अब चेक जाँच प्रणाली आधुनिक बनाईने राजस्व सचिव ढुगांना बताउँछन्।

भर्खरै
लोकप्रिय






































































































































































































