
काठमाडौँ- काठमाडौंको घण्टाघर क्षेत्रबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाईनगरपालिका–७ वेनौली घर भई हाल कुलेश्वर बस्ने ३३ वर्षीय सुनिल कुमार शाह र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–३ घर भइ हाल टेकु बस्ने ३३ वर्षीय अकिंत गोयन्का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता कृष्ण कोइरालाले बताएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घण्टाघर एरियामा विभिन्न व्यक्तिहरुले राजस्व चुहावट गरी गैरकानुनी रुपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा माधव श्रेष्ठ समेतका व्यक्तिहरुलाई निगरानी गर्ने क्रममा विशेष प्रहरी टोलीले घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई माधव श्रेष्ठले सञ्चालन गरेको संजोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको अवस्थामा नगद ६० लाख रुपैयाँ बरामद गरेको थियो।
श्रेष्ठको कार्यालयमा हुन्डी भुक्तानी गर्न आएका अंकित गोयन्काका कर्मचारी सुनिल कुमार शाहलाई समेत नियन्त्रणमा लिइ कलंकीस्थित अंकित गोयन्काले सञ्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयमा खानतलासी गर्दा प्रहरीले नगद ९ लाख रूपैँया बरामद गरेको हो।
प्रहरीले ‘फास्ट ट्रयाक इन्टरनेशनल प्रालिका नाममा जारी भएको १५ लाख रुपैयाँको चेकसमेत बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।