
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।
महाशाखाले आज बिहान एक विज्ञप्ति जारी गदै ती प्रदेशका भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्क रहनसमेत आग्रह गरेकाे हाे।
‘नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।
यस्तै, तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
हाल देशभर आंशिक बदली देखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो लुम्बिनी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।