
धनगढी – प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट अस्वस्थ भएका छन् । मंगलबारदेखि नै ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएपछि भट्ट बुधबार बिहानै उपचारका लागि धनगढीको सेती अञ्चल अस्पतालमा पुगेका थिए ।
अस्पतालमा विशिष्ट व्यक्तिका लागि राम्रो बेडको व्यवस्था नहुँदा भट्टलाई अस्पतालमा उपचार नगरेर निवासमा ल्याएर उपचार गर्न सुरु गरिएको छ ।
‘मुख्यमन्त्री ज्यू बिहानै अस्पताल पुग्नुभएको थियो’ सेती अञ्चल अस्पतालका आकस्मिक कक्षका प्रमुख कृष्ण बहादुर बोहराले भने, ‘अस्पतालमा राम्रो वेड नभएपछि उहाँकै निवासमा उपचार सुरु गरिएको छ ।’
बोहराले नै मुख्यमन्त्रीको उपचारका लागि निवासमा गएका थिए ।
‘जाँचको क्रममा ज्वरो आउने, पेट र जिउ दुख्ने समस्या देखिएको छ । रगत र पिसाब चेक गर्नुका साथै स्लाइन पनि चढाएका छौँ’ उनले भने, ‘समस्या के रहेछ रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ ।’
उनले अल्ट्रासाउण्ड गर्नुपर्ने भए पनि बिहानै मुख्यमन्त्री भट्टले नास्ता खाएका कारण बिहीबार मात्रै गरिने जानकारी दिए ।