
बुटवल – बुटवल उपमहानगरपालिकाले सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो।
शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख खेलराज पाण्डेयले सय दिनका उपलब्धि सार्वजनिक गरे। सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए।
‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं। बुटवल हामी सबैको र हामी सबै बुटवलको भन्ने भावनासहित बुटवलको समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेछौं’, उनले भने, ‘हामी बुटवलमा असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित छौं। सबै वडाको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं।’
उनले बुटवलका समस्या समाधानका लागि संघ र प्रदेशसँग समेत सहकार्य गरेर अगाडि बढ्ने बताए।
पाण्डेयले बुटवललाई सबल आर्थिक केन्द्रका रुपमा स्थापित गर्न सबैको साथ जरुरी रहेको बताए।
कार्यक्रममा प्रमुख पाण्डेयले सय दिनको अवधिमा बुटवल १३ र १७ मा अक्सिजनसहितका २ अस्पताल, कृषि बजार केन्द्र स्थापना, आम्दा अस्पतालमा पीसीएल नर्सिङ अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा अध्ययन, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि प्रक्रिया अघि बढेको बताए।
यस्तै बुटवल बसपार्कमा बहुतले पार्किङ भवन निर्माणको अध्ययन, बुटवल ७ र ८ मा प्रदेशस्तरको हरियाली बसपार्क निर्माणका लागि जग्गा प्राप्तिको सहमति माग गर्ने काम अगाडि बढाइएको उनले बताए।
नगरप्रमुख पाण्डेयले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने र फगिङ गर्ने, विद्यार्थीहरुका लागि आयमूलक कार्यमा संलग्न गराउन ‘कमाउ र अध्ययन गर’ भन्ने कार्यक्रम नवरत्न माध्यमिक विद्यालय बुटवल–१५ मा सञ्चालन गरिएको, तिनाउ नदी किनारमा बाढीबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि च्यानलाइज गर्ने र तारजाली लगाउने काम गरेको बताए।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि चरणबद्ध रुपमा योजना कार्यान्वयनमा जाने बताइन्। उनले बुटवललाई सहमति र सहकार्यका आधारमा सबैलाई साथ लिएर अघि बढ्ने बताइन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने बताइन्।
पूर्वजनप्रतिनिधि, उपविजेता र दलहरुका लागि सम्पर्क कक्ष स्थापना
बुटवल उपमहानगरपालिकामा पूर्वजनप्रतिनिधि र दलहरूका लागि सम्पर्क कक्ष स्थापना गरिएको छ।
स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले सम्पर्क कक्षको उद्घाटन गरे।
बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपविजेताहरूका सम्पर्क कक्ष स्थापना गरिएको नगर प्रमुख पाण्डेयले बताए।
उनले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको बताए।
उनले सम्पर्क कक्षमा आउन र नगरसँग सम्बन्धित कार्यहरु सोही कक्षबाट गर्नका लागि पूर्व जनप्रतिनिधि, उपविजेता र राजनीतिक दललाई आह्वान गरे।
स्मृति पार्क शिलान्यास
बुटवलको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ। सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगीकार गर्दै बुटवलको विकासमा केन्द्रित हुने योजनासाथ बुटवल उपमहानगरपालिकाले बुटवल ११ मा नेपाली कांग्रेसका संस्थापक स्व. बीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो।
स्थानीय निर्वाचन ०७९ बाट निर्वाचित भएर पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्यास गरे।
१७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व. बीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र स्व. सूर्यप्रसाद प्रधानको सालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताए।
उनले बुटवललाई बुटवलबासी र सबै राजनीतिक दलको अपनत्व हुने गरी पहिचान स्थापित गर्न आवश्यक रहेकाले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति लिएर अघि बढ्ने बताए।
‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउन पनि यो पार्कले देशभर सन्देश दिनेछ,’ उनले भने, ‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मद्दत गर्नेछ।’
नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए।
‘यहाँका बासिन्दाले आफूलाई हेपिएको महसुस गर्नुपर्ने छैन, यहाँ सुन्दर पार्क बनेपछि यो नै बुटवलको रमणीय केन्द्र बन्नेछ, यहाँको महत्व बढ्नेछ भन्ने हामीलाई विश्वास छ,’ उनले भने, ‘यहाँको सार्वजनिक जग्गा संरक्षण हुँदा यहाँका बासिन्दालाई लाभ हुनेछ, विपदमा खुला स्थान आवश्यक पर्दा यो पार्क उपयोगी हुनेछ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी पार्क निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताए।
त्यस्तै, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवलबाट सहमति र सहकार्य सुरु भएको र यसले देशभर सकारात्मक सन्देश फैलाउने बताए।
जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु वर्षका लागि सालिक सहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले बताए।