
काठमाडाैँ – सशस्त्र प्रहरीका पूर्वनायव महानिरीक्षक (डिआइजी) रञ्जन काेइरालालाई सजाय छुट गराउन गरेकाे फैसलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले क्षमायाचना गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरासँग आइतबार(आज) आफ्नै श्रीमती गीता ढकालकाे हत्या अभियाेगमा २० वर्ष जेल सजाय सुनाइएका पूर्वडिआइजी काेइरालाको फैसलामा गल्ती भएको भन्दै उनले माफी मागेका हुन्।
प्रधानन्यायाधीश जबराले २० वर्ष जेल सजाए सुनाइएका पूर्वडिआइजी काेइरालामाथिकाे सजाय छुट गरी ८ वर्ष ६ महिना कायम गरेका थिए। यद्यपि, उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालतकाे आदेशलाई नै कायम गरेर सर्वाेच्च पुनरावलाेकन मार्फत् सजाय थप गरी २० वर्ष नै कायम गरेकाे छ। राणाको सजाय छुटको फैसला उल्टिएपछि कोइराला पुनः जेल फर्किएका छन्।
बयानका क्रममा उनले भने, ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन्। उनलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालक छोराहरू इजलासमा उपस्थित भए। ८ वर्ष ६ महिना कैदमै बसेका थिए। न्यायाधीशले मिसिल हेरेर, विवेक प्रयोग गरेको हो। नाबालकहरूको पालनपोषणका लागि पारिवारिक जीवन बिताउनका दिइएको हो। त्यसमा गल्ती भएको छ। विवेक प्रयोग गर्दा यदि त्यसैको आधारमा महाअभियोग लगाएको हो भने जनतासमक्ष क्षमा चाहन्छु।’