
बुटवल- नजिकिँदै गइरहेको चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन वस्तुहरूको बिक्रीवितरण रोक्न बुटवल उपमहानगरपालिकाले बुटवलका विभिन्न क्षेत्रका मासु पसलहरूमा अनुगमन गरेको छ।
बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा वधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो।
बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा ३ वटा मासु पसलमा अखाद्य किसिमको मासु भेटिएको छ भने अधिकांशमा वधशाला सरसफाइमा ध्यान नदिएको पाइएको छ।
अखाद्य मासु भेटिएकालाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको छ।
बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ। यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारी नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले जानकारी दिए।
वधशाला तथा मासु पसलमा सरसफाइ नभएको भन्दै निर्देशन दिइएको उनले जानकारी दिए।
देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा सडकमा वधशाला बनाएको पाइएको छ भने तीनकुनेमा रहेका निमेष मासु पसलको वधशाला निकै फोहोर पाइएको छ।
यस्तै, इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजन फ्रेस हाउसमा अनुगमन गरिएको छ।
अनुगमनका क्रममा बोल्दै उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएको मासु पसलमा अनुगमन गरी स्वच्छ र स्वस्थ मासुको प्रत्याभूति गराउने प्रयास गरेको बताइन्।
उनले भनिन्, ‘चाडपर्वको समयमा जुन पदार्थको बढी खपत हुन्छ र कालोबजारीको डर हुन्छ त्यही वस्तु तथा पसलमा अनुगमन गरेका छौँ। यसले गर्दा बुटवलका बासिन्दाले स्वस्थ्य र कालोबजाररहितका वस्तु उपभोग गर्न पाउनुहुनेछ।’
मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्यो अनुसार नपाइएको बुटवल उपमहानगरपालिकाका पशु चिकित्सक झविन्द्र बन्जाडेले थप प्रक्रियाको लागि बुटवल उपमहानगर बोलाइएको बताए।
उनले मासुलाई उचित तापक्रम मिलाएर राख्न सकिने भएपनि त्यसको ज्ञानको अभावमा फ्रिजमा राख्दा अन्य रोगहरू समेत लाग्ने डर हुने बताए।
उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगर अध्यक्ष समुन्द्र जिसीले चाडपर्वमा हुने अखाद्य वस्तुको बेचबिखन हुनसक्ने भएकोले अनुगमन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तर र गोप्य तरिकाले गर्नुपर्नेमा जाेड दिए।