
काठमाडौँ- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अहिलेसम्म दुई सहरका विदेशी पाहुना नेपाल आइपुगेका छन् ।
महानगरका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रालाई विश्वस्तरीय बनाउने भन्दै अन्तर्राष्ट्रय स्तरमा भगिनीसम्बन्ध भएका १८ वटा नगर र दक्षिण एसियाली मुलुक (सार्क राष्ट्र) का ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा गरेका थिए।
निमन्त्रणा गरेकामध्येबाट हालसम्म भगिनी सम्बन्ध भएका अमेरिका र माल्दिभ्सबाट एक/एक जना प्रतिनिधि मात्रै काठमाडौं आइपुगेको महानगरले जनाएको छ।
भुटानको राजधानी थिम्पुबाट प्रतिनिधि आउने पक्का भए पनि प्राविधिक कारणले ढिलाइ भएको हुनसक्ने महानगरले जनाएको छ।
चीनसहित केही देशमा कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय आवतजावत नै बन्द गरेकाले पाहुना आउन नसकेको महानगरले बताएको छ । महानगरले बेलुकासम्म थप केही पाहुन आउन सक्ने बताएको छ।
यस्तै ५ महानगरपालिका र देशभित्रका आन्तरिक भगिनीसम्बन्ध भएका डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाका प्रतिनिधि भने इन्द्रजात्रामा सहभागी हुन काठमाडौं आइसकेका छन्।