
धनगढी – देशभरि शुक्रबार धुमधामका साथ १५ औँ धान दिवस मनाइरहँदा प्रदेश ७ मा भने अझै ६० प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेश ७ मा हालसम्म ४० प्रतिशत खेतमा मात्रै किसानले रोपाइँ गरेको जनाएको छ ।
मन्त्रालयका महाशाखा प्रमुख यज्ञराज जोशीले प्रदेश ७ मा अझै ६० प्रतिशत रोपाई हुन बाँकी रहेको बताए । उनले सिँचाइको सुविधा नहुँदा किसानले समयमा रोपाइँ गर्न नसकेको बताए ।
प्रदेश ७ का अधिकाश जिल्लामा सिँचाइको अभावले खेतीयोग्य जमिन बाँझै रहने गरेको छ । मन्त्रालयका अनुसार प्रदेश ७ भरि ४५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
‘सिँचाइको सुविधा छैन, यसवर्ष वर्षा सुरु भएको छैन’ कृषि मन्त्रालयका सचिव हरिहर अधिकारी भने, ‘किसानहरु आकाशे पानी पर्खेर बसिरहेका छन् ।
रोपेको धान पनि सुक्दै
रोपाइँ गरिएको खेतको धान पनि सुक्न थालेको किसानहरुले गुनासो गरेका छन् ।
‘बोरिङ गरेर खेत त रोप्यौ, धनगढी, १३ कैलाली गाउका किसान श्यामलाल रानाले भने, ‘रोपेको धान सुक्न थालिसक्यो, आकाशबाट पानी पर्दैन, बोरिङको पानीले मात्रै के हुन्छ ?’
प्रदेश ७ मा १८ लाख २ सय ९१ हेक्टरमा धान खेती गरिन्छ भने ६ लाख ५ हजार ३ सय ९३ मेट्रिक टन धान उत्पादन हुन्छ ।
‘सवै क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सकेमा अहिलेको भन्दा झण्डै दोब्बर वार्षिक १० लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन गर्न सकिने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख जोशीले दाबी गरे ।
अहिले प्रदेश ७ मा वार्षिक १५ देखि १६ अर्ब रुपैयाँको चामल भारतबाट आयात भइरहेको कैलाली भन्सार कार्यालयको तथ्याङले देखाएको छ ।