
काठमाडौँ – देशभरको मौसम शनिबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहेकाले पानी पार्ने खालको बादल देशभर लागेको छ ।
देशभर दिनभर नै मौसम बदली हुने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । विशेष गरी पूर्व र पश्चिमका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना छ । यस्तै मध्य क्षेत्रमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद बासीको भनाई छ ।
यस्तै पूर्व र पश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने देखिएको छ । रोपाइँको सिजन रहेकाले आकाशे पानीको भरमा रहेका किसानलाई अब राहत मिल्नेछ ।
यस्तै नदी आसपास तथा जोखिमयुक्त ठाउँमा रहेकाहरुले चाहिँ सावधानी अपनाउनु पर्ने मौसमविदको भनाई छ । पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम बढी रहेको छ ।