
धनगढी-आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको भादा गाउँमा यस बर्ष पनि भादा गाँउ थारु होमस्टे महोत्सव हुने भएको छ।
आयोजक थारु होम स्टे गाउँ, भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै यस बर्ष पुस १९ गतेदेखी महोत्सव सञ्चालन हुने जानकारी दिएको हो ।
महोत्सवका लागि तयारी अन्तिम चरणमा रहेको र विभिन्न उप-समितिहरुले धमाधम काम गरिरहेको आयोजक संस्थाका अध्यक्ष लक्ष्मी नारायण चौधरीले जानकारी दिए। उनले थारु परम्परामा निर्माण भएका घरमा महोत्सव अवलोकन गर्न आउने पाहुनाको बसोबासको व्यवस्था गरिएको जानकारी दिए।
पाहुनाका लागि घर घरमा पकाइएको अन्डिको चामलको भात, ढिक्री, खेरिया, पनझझरा, अन्डिक रोटी, गेंगटा, घोंघी, मुसुवक सिकार, लगायतका परिकार तयार पारिनेछ।
धनगढीदेखि झन्डै १७ किमी उत्तरपूर्वी क्षेत्रमा हाल धनगढी उपमहानगरपालिका–१६ मा पर्ने भादा गाउँमा आयोजना गरिने महोत्सववाट यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको खानपिन, भेषभूषा, रहनसहन, कलासंस्कृतिका साथै प्राकृतिक दृष्यको अवलोकन गरी स्थानीय स्तरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिइएको छ।
भादा गाउँमा १९६ घरधुरी थारु समुदायका बसोबास गर्छन्।