
काठमाडाैँ – नवौँ राष्ट्रिय खेलकुदको औपचारीक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ। खेलकुदको महाकुम्भमा भाग लिन ६ हजारभन्दा बढी खेलाडी मैदानमा छन्। योबीचमा अन्य प्रदेशका खेलाडी सहज रूपमा पोखरा आइपुगे पनि कर्णाली प्रदेशको संघर्ष भने फरक छ। सिमित पूर्वाधारमा तयारी गरेको कर्णालीलाई नवौँ राष्ट्रिय खेलकुदमा सहभागितानै कठिन बन्यो।
प्रतियोगिता अघिको खराब मौसमका कारण कर्णालीका खेलाडीले करिब एकसाता अभ्यास गर्न पाएनन्। इन्डोर खेलका लागि पूर्वाधार नहुनु र आउट डोरमा वर्षाले विथोल्दा सिमित तयारीमानै खेलाडी पोखरा उत्रिए। कर्णाली खेलकुद् परिषद्का सदस्यसचिव विश्वमित्र सञ्जेल कठिन परिस्थितिमा पनि कर्णालीका खेलाडी पोखरा आएको र केही खेलमा मेडल जित्ने विश्वासमा रहेको बताए। उनले भने ‘सिमित पूर्वाधारमा पनि यो पटक हामीले बढीभन्दा बढी खेलमा सहभागिता जनाउँदै छौँ।’ आठौँ राष्ट्रिय खेलकुदमा १८ खेलमा सहभागिता जनाएको कर्णालीले यो पटक २९ खेलका लागि ५ सय ७ खेलाडीलाई मैदान उतारेको छ।
कर्णाली प्रदेशको टिम व्यवस्थापक प्रमोद हमालका अनुसार पुरुष ३०० र महिला २ सय ७ जना खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्दैछन्। व्यवस्थापक हमाल भन्छन्, ‘हामीले सकेको तयारी गरेका छौँ। आफ्नो बजेट अनुसार खेलाडीलाई राम्रो व्यवस्था गरेका छौँ।’ उनका अनुसार सहभागिताका लागि पोखरा उत्रिँदै गर्दा खेलाडीहरू धेरै समय बाटोमा रोकिएको र केही खेलाडीलाई प्लेन चार्टर गरेर पोखरा ल्याउनु परेको बताए। हमालले भने,‘अन्तिम अवस्थासम्म पनि मैदानमा खेलाडी आइनपुग्ने अवस्था बनेपछि हेलिकप्टरनै चार्टर गर्नुपर्छ कि भन्ने थियो, तर अन्तिम समयमा धेरै रिक्वेस्ट पछि विमान चार्टर गरेर खेलाडी पोखरा ल्याइ पुर्यायौँ।’
सदस्यसचिव सञ्जले कर्णालीबाट खेलाडी उत्पादनको प्रयास र बढीभन्दा बढी खेलमा सहभागिता मुख्य रहेको बताए। उनले केही खेलमा मेडल जित्ने अपेक्षा भएपनि समग्रमा सहभागितानै महत्वपूर्ण भएको बताए। उनले भने,‘हाम्रो जस्तो पूर्वाधारले सबै मेडलमा दाबेदारी दिने संभावना त कमजोर छ तर कर्णाली प्रदेशको बलियो उपस्थिति धेरै अर्थमा महत्वपूर्ण छ।’ उनका अनुसार ३० खेलमा सहभागिता जनाउनुनै मुख्य कुरा हाे। यद्यपि, उनले एथलेटिक्समा स्वर्ण जित्ने विश्वास ब्यक्त गरेका छन्।
थप तस्बिर: