
पाेखरा – अमेरिकाको साइपन आइल्यान्डमा जन्मिएकी एस्लीका लागि बाल्यकाल अन्य बच्चाको जस्तो सहज देखिएन। खुट्टामा केही असहज महसुस भएपछि आमा बुबाले एस्ली ४ वर्षको हुँदा डक्टरकहाँ पुर्याए। डक्टरले स्विमिङको एक्सरसाइजले सन्चो हुने बताएपछि उनलाई स्विमिङ सुरु गराइयो।
आमा रेनुका सापकोटा डंगोल भन्छिन् ‘सुरुमा छोरिको खुट्टामा केहि समस्या जस्तो देखियो, डक्टरले स्विमिङको एक्सरसाइज गर्न भन्नु भएपछि पहिलो वर्ष एक्सरसाइजका रुपमानै स्विमिङमा राख्यौं।’
पहिलो वर्ष अभ्यासका रुपमा स्विमिङपुलमा राखेपछि उनी आफै पौडी खेल्नका लागि इन्ट्रेस्टेट भइन्। अनित एस्लीका लागि पौडी पोखरी नियमित प्रवेशको माध्याम बन्यो।
पौडीसँगै एस्लीको खुट्टापनि सन्चो भयो। पौडीप्रतिको लगाव पनि बढ्यो। विस्तारै उनी स्थानिय स्तरमा प्रतिस्पर्धामा उत्रिन थालिन। प्रतिस्पर्धासँगै बाल्यकालमानै जापानमा ९ वर्षको उमेर टोकियो जुनियर स्प्रिन्टमा प्रतिस्पर्धा गरिन्। जहाँ उनले रेकर्डसहित स्वर्ण हात पारिन्। त्यसपछि भने उनको पौडीमा लगाव मात्रै होइन प्रतिस्पर्धा पनि साथ लाग्यो।
परिवारले एस्लीलाई निरन्तर सहयोग गर्यो, ४ वर्षअघि उनीहरु साइपन आइल्यान्डबाट क्यालिफोर्निया सरे। क्यालिफोर्निया आएसँगै एस्लीको पौडीको गतिविधिपनि बढ्यो। उनले समूहगत प्रशिक्षण नियमित पाउन थालिन्। जसले गर्दा उनको अभ्यास सँगै टाइमिङ पनि सुधारियो। परिवारले उनलाई कुनै दबाब दिंदैन रेनुका भन्छिन् ‘हामि उनीहरुलाई स्वतन्त्र रुपमा आफ्ना गतिविधि गर्न दिन्छौं। उनीहरुपनि इमान्दार भएर प्रयास गरिरहेका छन्।’
त्यसो त छोरी मात्र होइन छोरा आशिषले पनि दिदीको स्विमिङ पुल पदचापलाई पछ्याए। उनी पनि अहिले दाबेदार बनिसकेका छन्। उनले पनि नवौं राष्ट्रिय खेलकुदका लागि आमासँगै नेपाल आएर केहि इभेन्टमा प्रतिस्पर्धा गर्दै छन्। पहिलो दिन १५०० मिटरको फ्रि स्टायलमा प्रतिस्पर्धा गर्दै रजत जिते। उनका केहि इभेन्ट अझै बाँकी छन्। तर आमाले उनीहरुलाई यति खेल्नै पर्छ भनेर फोर्स नगरेको बताउँछिन्। रेनुका भन्छिन् ‘उनीहरु जुनसुकै इभेन्टमा पनि पहिलो, दोस्रो र तेस्रो हुन सक्छन्। तर हामिले फोर्स गर्दैनौं। उनीहरु चाहेको इभेन्टमा प्रतिस्पर्धा गर्न स्वतन्त्र दिएका छौं।’
क्यालिफोर्निया सरेसँगै र पौडीमा खर्च बढ्यो अझ कोभिड पछिको अवस्थात झनै सबैकुरामा मँहगिको मारामा परिवार पर्यो। रेनुका भन्छिन् ‘क्यालिफोर्निया पुगेपछि कोभिडले धेरै मँहगी बढ्यो अहिलेलाई पौडीलाई निरन्तर नगरौं भन्यौं। तर उनीहरुले आँशु झारे। बरु जे सुकै छोडेपनि पौडी नछाडौं भने।’
आर्थिक रुपमा गारो भएपनि छोराछोरिका लागि मिलाएर अहिलेसम्म अघि बढाएको रेनुका बताउँछिन्। पौडीमा जती अब्बल छन् पढाइमा पनि त्यतिकै अब्बल रहेको र छोराछोरी अभिभावक जस्तो भएका कारणपनि अवस्था सहज भएको उनको बुझाइ छ।
नेपालबाट अन्तराष्ट्रिय सहभागिता कति सहज?
१९९८ मानै अमेरिका प्रवेश गरेको सापकोटा डंगोल परिवार उहाँको नागरिक भइसकेको छ। तर छोरिको जन्मदर्ता भने नेपालमा गरीएको छ। १६ वर्षिय एस्लीलाई नेपालबाट अन्तराष्ट्रिय सहभागिता गर्न मन छ भन्ने प्रश्नमा उनले भनिन् ‘अहिले केहि भन्दिन एकपटक मेरो मामा बाबसँग बसेर सल्लाह गर्नु पर्छ।’ आमा रेनुका पनि छोराका लागि तत्काल नसोचेको भएपनि छोरिका लागि भने उसको इच्छा अनुसार स्वतन्त्र छोड्दिएको बताउँछिन्। रेनुका भन्छिन ‘दोहोरो नागरिक्ता भएको भएत सहज हुन्थो। तर त्यस्तो ब्यबस्था नभएकाले अलिकति असहज त छ। तर छोरिको केसमा छोरिको इच्छा महत्वपुर्ण हो। मेरो मात्र होइन श्रीमान सञ्जय डंगोलले पनि यो विषयमा उतिकै चासो राख्नु हुन्छ। हामि सकरात्मक हुन्छौ, उनको जन्म दर्ता नेपालमानै भएकाले उनले चाहेको खण्डमा परिवार सकरात्मक हुन्छ।।’
८ इभेन्टमा सहभागिता पहिलो दिन तीन स्वर्ण
एस्लीले जारी नवौं राष्ट्रिय खेलकुदमा कुल ८ इभेन्टमा सहभागिता जनाएकी छिन्। जसमा उनले पहिलो दिन ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टायल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिन्। स्वर्ण जितेपछि एस्ली भने पहिलो ठुलो प्रतियोगितामा स्वर्ण जित्दा खुसी लागेको बताइन्। उनले भनिन् ‘४ वर्षअघि पनि नेपाल आएको थिँए, त्यतिबेला सानो प्रतियोगिता खेलेको थिँए। ठुलो प्रतियोगिता खेल्दा अलिअलि डरपनि लागिरहेको थियो।’
उनले प्रतियोगिताको बारेमा एकमहिना अघि सुनेको र अभ्यासमा अलि बढी फोकस भएको बताइन्। उनले त्यहाँको स्टेट स्तरमा प्रतिस्पर्धा गरेको जानकारी दिइन्। उनले जारी प्रतियोगितामा डुवाना र गौरिकाको बारेमा सुनेको र उनीहरु राम्रो खेलाडी भएको र स्वभाविक रुपमा डर लाग्ने बताइन्। प्रशिक्षक मिरियमका साथमा आएकी एस्लीले आफ्नो उपल्बधिमा मिरयमको ठुलो भुमिका रहेको बताउँदा मिरियम भने उनको मिहिनेतले सफल्ता हात लागेको विश्वास गर्छिन्।
प्रतियोगिताकै लागि नेपाल आउन भने एनआरएनएका टिम ब्यबस्थापक स्वयंभुराज डंगोलले आग्रह गरेका थिए। उनले नेपालको प्लेटफर्म राम्रो हुने सल्लाह दिएपछि सापकोटा डंगोल परिवार नेपाल उत्रिएको हो। स्वयंभु भन्छन् ‘हरेक आमाबुवाले सोच्नु पर्छकी खेलकुदका लागि विदेशमा भएरपनि कति लगाव र मिहिनेत भइरहेको छ। त्यस्ता प्रतिभालाई स्वेदेशमा बोलाएर अवसर दिनु आवश्यक छ। जसको निरन्तरता हुनु पर्छ।’ उनले केहि विदेशी खेलाडी राम्रो गर्न आउँदा आफ्नो भाग खोसिएको जस्तो महसुस गर्न नहुने बताए।