
धनगढी- विपद् न्यूनीकरण र समाधानका लागि प्रदेश ७ को सरकारले योजना निर्माण गर्ने भएको छ।
मंगलबार पहिलोपटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले विपद्को न्यूनीकरण र विपद् आइहालेमा छिटोभन्दा छिटो समाधानका लागि कार्ययोजना बनाउने निर्णय गरेको हो।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत विपद् व्यवस्थापनका कार्य सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विसन सिंह थापाले प्रदेशका हरेक स्थानीय तहलाई एक/एक हेलिप्याड निर्माण गर्न आग्रह गर्ने, प्रदेश राजधानीमा भण्डार गृह र उद्धार सामाग्रीको पूर्वतयारी गर्ने, सम्बन्धित निकायलाई उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय गरिएको जानकारी दिए।
यस्तै, बैठकले प्रदेशमा आपतकालीन केन्द्र सञ्चालनका लागि केन्द्र सरकारसग अनुरोध गर्ने र साविकको क्षेत्रीय भण्डारणलाई प्रदेश विपद व्यवस्थापन समिति मातहत ल्याउने निर्णय समेत गरेको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले विपद् न्यूनीकरण र समाधानका लागि कार्ययोजना बनाउन लागिएको जानकारी दिए।
उनले विपद्बाट पीडित प्रदेशबासीलाई तत्काल राहत उपलब्ध गराउन योजनाले सहजता पुर्याउने अपेक्षा गरिएको बताए।