
काठमाडौँ – सन्दीप लामिछानेलाई लागेको बलात्कारसम्बन्धी आरोप पुष्टि हुने गरी प्रहरीले अदालतमा मुद्दासँगै केही प्रमाण बुझाएको छ। अदालतमा बुझाएको रायसहितको प्रतिवेदनमा मुख्य प्रमाणका रुपमा होटलको सीसीटीभी फुटेज छ।
प्रहरीले बुझाएको प्रमाणका रुपमा १२ वटा सीसीटीभी फुटेज छन्। ती सबै फुटेज काठमाडौँको गौशलास्थित होटल काठमाडौँ इनका हुन्। १२ वटा फुटेजसहितको पेनड्राइभ प्रहरीले बुझाएको हो।
नगरकोटको बोजिनी रिसोर्टमा सन्दीपले तिरेको बिल भर्पाइ पनि प्रमाण भन्दै प्रहरीले अदालतमा पेश गरेको छ। यस्तै ल्याबमा परीक्षण गरेर फिर्ता गरिएका उपकरणहरु भौतिक प्रमाणका रुपमा अदालतमा बुझाइएको छ।
अर्को प्रमाण सन्दीप लामिछानेकै स्वास्थ्य परीक्षणको रिपोर्ट छ। यस्तै होटलको गेष्ट रजिस्ट्रार कार्ड पनि अदालतमा पेश गरिएको छ।
त्यस्तै अर्को प्रमाणका रुपमा सन्दीपले किशोरीलाई स्न्यापच्याटमा पठाएको म्यासेज छ। उनले किशोरीलाई मायाको चिन्हसहित पठाएको म्यासेजमा लेखिएको छ, ‘मायाको पहिलो सौगात।’
यसबाहेक पीडित भनिएकी किशोरीको जाहेरी र बयानलगायत अन्य यस घटनामा जोडिएका सबै बयानलाई पनि प्रहरीले प्रमाणका रुपमा पेश गरेको छ।