काठमाडौँ – मानिसले एक्लोपन जुनसुकैबेला महसुस गर्न सक्छ, चाहे त्यो बालापनमा होस्, युवा अवस्थामा होस् या बुढेसकालमा। वृद्ध उमेरमा एक्लो भएको व्यक्ति कोहीसँग नजिक हुँदैमा ‘बुढेसकालमा वैंश चढेको’ भन्ने हाम्रो समाजको चलन छ। तर कोहीसँग नजिक हुनु, कुराकानी गर्नु या सुख दु:खको कुरा साटासाट गर्नु नराम्रो भने पक्कै होइन।
यही कुरालाई फिल्मको माध्यमबाट सरल ढंगमा मार्मिक रुपले प्रस्तुत गरेका छन् लेखक तथा निर्देशक प्रदीप भट्टराईले। ‘महापुरुष’ चलचित्र कार्तिक ११ गतेबाट सिनेमा हलहरुमा चलिरहेको छ। जसमा एकजना एकल बुवाको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
‘हाम्रो समाजमा एकल बुवाहरु यस्तो परिस्थितिबाट गुज्रिरहेका हुन्छन्, जुन परिस्थितिको बारेमा उनीहरु खुलेर कुरासमेत गर्न सक्दैनन्, उनीहरु आफ्नै परिवार तथा छोराछोरीबाट हेलित भएर बस्नुपरेको छ,’ कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ भन्छन्, ‘हामीले यो फिल्म बनाउने बेलामा रिसर्ज गर्दा यस्तो परिस्थिति पनि देख्यौँ कि हजुरबुवालाई लिभिङ रुपमा जान नदिने, यतिसम्म कि आफ्नै नातिको विवाहमा जान नदिएर घरमै थुनेर राख्ने। त्यसपछि हामीलाई लाग्यो कि फिल्मको माध्यमबाट यो विषयमा बहस सुरु गर्न आवश्यक छ।’
‘महापुरुष’ एक मध्यमवर्गीय एकल बुवाको कथा हो। आफ्ना सन्तानका निम्ति जीवनको उर्जाशील समय र सपना खर्चेका उनका निम्ति दुनियाँ भनेकै सन्तान हुन्। जेठो छोरो एक निजी स्कुल चलाएर बसेका छन्। उनी लेखक पनि हुन्। कान्छो छोरो भने विदेश पलायन हुने कोशिसमा छन्।
उनीहरुको घर शहरको एक गल्लीमा मात्रै छैन, त्यस टोलका आफ्नै नीति-नियम छन्। आदर्श टोलमा धेरैथोक आदर्श छन्। तर, टोलको फलामे गेटभन्दा बलियो र अग्लो गेट बनेर त्यही कथित ‘आदर्श’ ठिङ्ग उभिएको छ। जसलाई भत्काउन सिंगो टोलको आदर्श नै भत्काउनु पर्नेछ। र, आदर्श टोलको आदर्शले सधैँ भनिरहन्छ, ‘तिम्रो इच्छा, आकांक्षा र रहरहरु त्यही आदर्शको पर्खालमुनि कुहिएर बस्नुपर्नेछ।’
बुवाको भूमिकामा रहेका हरिवंश आचार्य कान्छो छोरासँग छन्। तर, भित्रभित्रै रित्ता छन्। सन्तानका लागि आफूलाई बिर्सिएका छन्। कान्छो छोरोको विदेश जाने चक्करमा एक युवतीसँग भेट हुन्छ। समयान्तरमा उनीहरुको विवाह पक्का हुन्छ। जेठो छोरो ‘भगवानजस्ता मेरा बा’ पुस्तक लेखिरहेका छन्। पुस्तकमा बाका आदर्शहरु समेटिएका छन्।
तर, कथामा ट्वीस्ट त्यतिबेला आउँछ, जब छोराहरुलाई आदर्श पढाएर बुढा भएका बुवाको थिएटर कलाकार गौरी मल्लसँग प्रेम बस्छ। आफैंभित्र एक्लो भएका बुवाले आफूलाई एक्लो ठान्न छाड्छन्। वर्षौंदेखि छोराहरुका मुस्कानका निम्ति गुमेको उनको मुस्कान फिरेर आउँछ। र, आफ्नै जीवनलाई रंगीन देख्न थाल्छन्। तर, आदर्शनगर टोल र आदर्श छोराहरुका निम्ति यो पाच्य हुँदैन। न कान्छो छोराकी दुलही हुन लागेकी युवतीको परिवारलाई नै पाच्य हुन्छ। यी घटनाक्रमले निम्त्याउने परिणतिको कथामा घुमेको छ ‘महापुरुष’।
भावनात्मक रुपमा सिनेमाले दर्शकलाई कताकता च्वास्स छोइरहन्छ। वृद्ध पुरुषको कथा भए पनि परिवारले, अझ छोराछोरीले विशेषगरी हेर्न आवश्यक रहेको कार्यकारी निर्माता बानियाँ बताउँछन्।
‘ओल्ड एजका व्यक्तिहरुले त यो मुभि हेरेर आफ्नै कथा वा हाम्रो समाजमा भइरहेको भोगिरहेको कथा भनेर मनन गर्नुहोला तर युवा पुस्ताले अझै विशेषगरी हेर्न आवश्यक छ यो चलचित्र,’ उनी भन्छन्,’युवाहरुले फिल्म हेरेर उनीहरुका बुबा–आमालाई तपाइको इच्छा के छ? के चाहनुहुन्छ? भनेर मात्रै सोधिदिए भने त्यो हाम्रो फिल्मको उपलब्धि ठान्छौँ।’
कमेडी शैलीका फिल्म बनाउँदै आएका प्रदीप भट्टराईले ‘महापुरुष’मा कमेडीमा सामाजिक मुद्दा पनि घुसाउने चेष्टा गरेका छन्। सर्जकका हिसाबले उनको यो रुपान्तरण चेष्टा प्रशंसनीय छ। यसमा पनि उनले समाजमा उत्तिकै समस्यामा परेका तर समाजको नजरमा समस्या नै नमानिएका एकल पुरुषको एक्लोपनलाई विषय बनाएका छन्। यो फिल्मको उल्लेखनीय पाटो हो। उनले एकल पुरुषको एक्लोपन देखाउन सुगासँग कुरा गर्ने, अँध्यारोमा बस्ने, निरस रङका लुगा लगाउने जस्ता कुराहरुको प्रयोग गरेका छन्।
फिल्ममा आदर्शनगरदेखि ह्याप्पी कोलोनीसम्मको कथालाई समावेश गरिएको छ। बानियाँ भन्छन्, ‘हामीभित्र भएको आदर्शले हामीलाई कसरी खोक्रो बनाइरहेको छ त? आदर्शमा दुनियाँले के भन्ला भनेर हामी हाम्रो खुसीलाई मारीरहेको हुन्छौँ। जसलाई हामीले सिनेमाको माध्यमबाट प्रस्तुत गरेका छौँ।’
‘फिल्ममा देखाउन खोजिएको कथा हरिवंश दाइको मात्र भन्दा पनि सम्रग समाजमा भएको घट्नालाई हामीले उहाँमार्फत बाहिर ल्याउन खोजेका हौँ,’ उनी भन्छन्,’हाम्रा समाजमा थुप्रै त्यस्ता विषयवस्तुहरु छन्, जसलाई बाहिर ल्यउन, बहस गर्न आवश्यक छ। त्यसमध्ये एकल बुवाको कथा पनि एक हो। अहिलेलाई यो विषयवस्तु उठाएका हौँ अन्य विस्तारै उठाउँदै जान्छौँ।’
आफूहरुले फिल्मको माध्यमबाट उठाउन खोजेको विषयबस्तुलाई दर्शकहरुले मन पराइदिएको उनी बताउँछन्।

रवीन्द्र सिंह बानियाँ।
सिनेमामा कथित आदर्शका निम्ति छोराहरुले आफ्नो पितालाई बन्धकजस्तै बनाउँछन्, बुवाको खुशी खोस्छन्, बुवाको मुस्कान खोस्छन् र अस्पतालको बेडसम्म पुर्याउँछन्। तर, शिक्षित छन् दुवै छोरा। त्यस्ता सन्तान त्यति निर्दयी र कठोर बन्न सक्छन् र? दर्शकको मनमा प्रश्न उब्जन सक्छ।
‘महापुरुष’ फिल्ममा देखाइएको कथा हरिवंश आचार्य आफैको हो पनि भनिन्छ नि? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘उहाँसग मिल्दोजुल्दो भएको पक्कै हो तर उहाँकै कथा चाहिँ होइन। यो कथा चितवनमा ८३ वर्षको एकजना एकल बुवा हुनुहुन्थो उहाँको कथा सुनिसकेपछि हामीलाई लाग्यो कि यसमा फिल्म बनाउन सकिन्छ। यो विषयमा बहस गर्न आवश्यक छ भन्ने लागेर फिल्न बनाउन भनेर टिपेर राखेका विषयबस्तुहरुमध्ये यसलाई महत्वका साथ उठाएका हौँ।’
‘महापुरुष’ चलचित्र परिवारसहित बसेर हेर्नलायक सिनेमा रहेको उनी बताउँछन्।
सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरुष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ।
यसै फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गरेका छन्। अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन्। फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन्। उनले डेब्यु फिल्म ‘जात्रा’देखि नै दर्शकको विश्वास जित्दै आएका छन्।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन्।