
काठमाडौँ – सन् १९९७ बाट सुरु भएको बुद्ध एयर हवाई क्षेत्रमा स्थापित कम्पनी हो, जसका सञ्चालक हुन् वीरेन्द्रबहादुर बस्नेत। उनी एक्लैले निजी क्षेत्रमा व्यावसायिक रुपलेसमेत बुद्ध एयरलाई स्थापित गराउन सफल भइसकेका छन्।
उनी व्यावसायिक हिसाबले सफल भएकै कारण उनको नाम चर्चामा आउने गरेको छ। तर पछिल्लो समय भने उनको नाम एक फरक व्यवसायका कारण चर्चामा रहेको छ। बस्नेतले २५ वर्षको सफलतापछि बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर) अन्तर्गत कृषिमा लगानी गरेको छ। हवाई क्षेत्रमा प्रभुत्व जमाउँदै आएका बस्नेतले धानमा लगानी गरी आफैले राइस मिल स्थापना गरेका छन्। उक्त मिलको नाम हो– आरजु राइस मिल।
बस्नेत परिवारको कृषिसँग भने पुरानै सम्बन्ध छ। वि.सं. २०६९ सालमा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङका विभिन्न स्थानीय तहमा धान खेतीको व्यावसायीकरण र यान्त्रीकरणमा लगानी गरिरहेको बुद्ध एयरले अब कृषकले उत्पादन गरेको धानलाई चामलमा परिणत गरी बजारमा पठाउने भएको छ। बुद्धले मोरङको बेलबारी नगरपालिकास्थित डाँगीहाटमा ‘आरजु राइस मिल’ स्थापना गरेको छ।
‘हामीले हाम्रो धरातल बर्सिनु हुँदैन। म एक कृषक परिवारबाट हुर्किएको हुँ। त्यसैले बुद्ध एयरको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषिमा लगानी गरेको हुँ,’ उनी भन्छन्, ‘हाम्रो देशमा कृषिमा लगानी गरेर कृषिलाई यन्त्रीकरण गर्न आवश्यक पनि छ। एकातिर हामी कृषि प्रधान देश भन्छौँ अनि अर्कोतिर भारतले केही समय नाकाबन्दी गरिदियो भने रोइकराइ गरेर बस्नुपरेको छ।’
आरजु राइस मिलले नेपाली रञ्जित धानको समर्थन मूल्य १ हजार १०० रुपैयाँ प्रतिमन तोकेको छ। जसअनुसार धानमा नमि (Moisture) को मात्रा १८ प्रतिशत तोकिएको छ।
आफ्नो पृष्ठभुमि कृषि क्षेत्र नै भएकाले पनि बुद्ध एयरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषिमा लगानी गरेको बस्नेत बताउँछन्।
‘हामीले हाम्रो धरातल बर्सिनु हुँदैन। म एक कृषक परिवारबाट हुर्किएको हुँ। त्यसैले बुद्ध एयरको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषिमा लगानी गरेको हुँ,’ उनी भन्छन्, ‘हाम्रो देशमा कृषिमा लगानी गरेर कृषिलाई यन्त्रीकरण गर्न आवश्यक पनि छ। एकातिर हामी कृषि प्रधान देश भन्छौँ अनि अर्कोतिर भारतले केही समय नाकाबन्दी गरिदियो भने रोइकराइ गरेर बस्नुपरेको छ।’
नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफूहरुले पहिलेबाटै धान खेतीमा लगानी गर्दै आएको र हाल सोही धानलाई प्रशोधन गरी गुणस्तरीय चामल उत्पादन गर्ने सोचका साथ आरजु राइस मिलको सुरुवात गरेको बस्नेत बताउँछन्।
कम्पनीले अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै ५० करोड रुपैयाँ लगानी गरेको छ। बुद्धले कृषिको यान्त्रिकीकरणमा सात करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ।
बुद्ध एयरले आफ्नो भगिनी संस्था नेपाल कृषि कम्पनीमार्फत निश्चित क्षेत्रमा निश्चित जातको धान रोप्न कृषकलाई प्रोत्साहन गरिरहेको छ। यसरी फलेको धान आरजु राइस मिलले सिधै खरिद गर्नेछ। मिलले मोरङ र यस आसपासका जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्डमा नेपाली बजारमा पठाउने लक्ष्य लिएको छ।
आयातलाई प्रतिस्थापन गर्न र कृषिको व्यावसायीकरण गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने लक्ष्यसहित कृषिमा यान्त्रिकीकरणको अभियान थालिएको बस्नेतले बताउँछन्। कम्पनीले धान फलाउने कृषक र चामल खाने उपभोक्ताबीच रहेका अनेक ‘ब्रोकर’को चेन तोड्ने विश्वास लिएको छ।
मिलमा धान पुर्याएको दुई दिनभित्रै किसानको बैंक खातामा रकम जम्मा गरिने केही दिनअघि आरजु राइस मिलले जनाएको छ। राइस मिलभित्रै धान जोख्ने अत्याधुनिक मेशिन जडान गरिएको छ। मेशिनलाई नापतौल गुणस्तर विभागबाट पनि स्वीकृति प्रदान गरिएको छ।
आरजु राइस मिलले किसानहरुसँग सहकार्य गर्दै ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बिउ किसानहरुलाई अनुदानमा बिक्री वितरण गरेको थियो। ‘नेपालमा धेरै उत्पादन हुने नगदेबालीअन्तर्गत धान पर्छ। तर यसो भनिरहँदा पछिल्लो महिनाको तथ्याङ्क मात्रै हेर्ने हो भने अर्बौँको चामल भारतबाट आयात भइरहेको छ,’ उनी भन्छन्, ‘५ वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर गर्ने लक्ष्य हामीले लिएका छौँ।’
हाल उक्त फर्ममा दर्जनभन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ। बङ्गलादेशबाट ल्याइएको बीआरआरआई ७५, बीआरआरआई ८५, रबी धान, बिना धान, पाकिस्तानबाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पञ्जाब बासमती, भारतबाट ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पीआर १२८, मराठी जीरा, पीआरआई १२६ र नेपाली धानमा पहाडे बासमती, हर्दिनाथ हाइब्रिड १, बहुगुणी १ आदि उन्नत जातका धान लगाइएको छ।
‘किसानहरुले धान उत्पादन गरिरहेको ठाउँमा नै हामीले मिल स्थापना गरेका छौँ। त्यसैले किसानहरु पनि धानको उचित मूल्य पाउने कुरामा आशावादी छन्, जुन आशा हामीले पूरा गरेका छौँ,’ उनी भन्छन्, ‘किसानहरुबाट हामीले सोझै धान खरिद गर्ने भएकाले किसानहरुबाट धान खरिद गर्ने र बेच्नेबीच जुन बिचौलिया थिए। उनीहरु नभएसँगै किसानले स्वभावैले मूल्य धेरै पाउने भए।’
आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ। भण्डारण गर्ने ढवाङहरू साढे तीन हजार मेट्रिक टनका छन्। त्यहाँ सबैभन्दा ठूलो लगानी प्रविधिमा गरिएको उनी बताउँछन्।
स्थानीयस्तरमा यति ठूलो लगानीमा राइस मिल खुलेकाले कृषक र स्थानीयवासी हर्षित भएको बस्नेतको दाबी छ। ‘किसानहरुले धान उत्पादन गरिरहेको ठाउँमा नै हामीले मिल स्थापना गरेका छौँ। त्यसैले किसानहरु पनि धानको उचित मूल्य पाउने कुरामा आशावादी छन्, जुन आशा हामीले पूरा गरेका छौँ,’ उनी भन्छन्, ‘किसानहरुबाट हामीले सोझै धान खरिद गर्ने भएकाले किसानहरुबाट धान खरिद गर्ने र बेच्नेबीच जुन बिचौलिया थिए, उनीहरु नभएसँगै किसानले स्वभावैले मूल्य धेरै पाउने भए।’
मिलले जिरा मसिनो, लङ ग्रेन तथा बासमती चामल नेपाली बजारमा सस्तो दरमा बिक्री वितरण गर्ने उनको भनाइ छ। नेपाली किसानहरुसँग सहकार्य गर्दै स्वस्थ पौष्टिक चामल देशैभरि बिक्री वितरण गर्नु आरजु राइस मिलको लक्ष्य भएको बस्नेत बताउँछन्।
वार्षिक ६ हजार मेट्रिक टन चामल उत्पादन गर्ने योजना सफल भएपछि मिलको क्षमता विस्तार गरेर वार्षिक २० हजार मेट्रिक टन पुर्याउने बस्नेतको सोच छ। दोस्रो चरणमा मिलमा कृषकको पनि लगानी प्रोत्साहन गरिने उनले बताए।
उनी भन्छन्, ‘कुनै बीमा कम्पनीले आईपीओ माग्दा मागभन्दा तेब्बर आवेदन पर्छ। हामीले त उद्यम गर्ने हो, यसमा सयौँ कृषकलाई मिल मालिक बनाउन सक्छौँ। समृद्धिको यो मोडल सफल पार्न हामी लागेका छौँ।’
भन्सार विभागको तथ्यांकअनुसार नेपालले वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीको खाद्यवस्तु आयात गर्छ। त्यसमा करिब ५० अर्ब धान र चामलको हिस्सा छ।
सामाजिक रुपान्तरणअन्तर्गत रहेर कृषिमा लगानी गरिएको भए पनि राइस मिल पनि एक छुट्टै व्यवसाय नै भएको उनी बताउँछन्।
‘यो पनि व्यवसाय नै हो। यसबाट सफल नै हुन्छु भन्नै छैन, तर हाल नेपाली बजारमा जति पनि चामल छन् त्योभन्दा सस्तोमा गुणस्तरीय चामल बिक्री वितरण गर्छौँ,’ नेपाली उत्पादनलाई सबैले माया गर्ने बताउँदै उनी भन्छन्, ‘नेपाली उत्पादन, त्यसमाथि पनि गुणस्तरीय भइसकेपछि उपभोक्ताले मन नपराउने भन्ने कुरै हुँदैन।’
आन्तरिक उडानमा सबभन्दा बढी यात्रु बोक्ने बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत १५ वर्षयता हरेक बर्खायाममा खेतमा पुग्छन्। कृषकहरुसँगै धान रोपाइँमा लाग्छन् र फर्कन्छन्। त्यही संघर्षबाट जन्मिएको हो– आरजु राइस मिल। उनले आफ्नो जेठी छोरीको नामबाट मिलको नामाकरण गरेका छन्।
मिलबाट उत्पादन भएको चामल सिधै उपभोक्तालाई बेच्न देशभरका मुख्य शहरमा वितरण केन्द्र खोल्ने बस्नेत बताउँछन्। विद्युतीय भुक्तानी लिएर घरमै चामल डेलिभरी गर्ने प्रणाली पनि अपनाइने उनको भनाइ छ।
‘यो राइस मिल हामीले त्यसै सञ्चालनमा ल्याएका छैनौँ। १५ वर्षदेखि खेतमा भिडेर देखेको सपना र सम्भावना हो, बुद्ध एयरको कमाइले नै मलाई पुगिरहेको थियो, भान्सा राम्रैसँग चलिरहेको थियो। तर पनि यो हाम्रो प्रयास भनेर हजारौँ किसानहरुको मुहारमा खुसी ल्याउनका लागि हो।’
एक सफल व्यवसायीको रुपमा स्थापित भइसकेपछि पुनः अर्को व्यवसायको सुरुवात गरेकै कारण आफूहरुले बुद्ध एयरलाई स्थापित गर्नजति समस्या नपरेको अनुभव बस्नेत सुनाउँछन्।
‘हुन त मैले हवाई क्षेत्रमा नाम कमाइसकेको भएकै कारण पनि होला मलाई मिल स्थापना गर्न समस्या भएन। बरु सबैजनाले राम्रो काम हो भनेर हौसला दिइरहनुभएको छ,’ उनी भन्छन्।
उनी कृषि क्षेत्रमा लगानी गर्न आफ्नो बुबाबाट प्रेरित भएको सुनाउँछन्। बुद्ध एयरलाई सामाजिक तथा व्यावसायिक रुपमा स्थापित गर्दैगर्दा उनले विगत १५ वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता राखेर लगानीसमेत गर्दै आएका थिए।
राइस मिल सञ्चालनमा ल्याइरहँदा यता बुद्ध एयरले भने २५ वर्षको यात्रा पार गरिसकेको छ। २५ वर्षको यात्रामा साढे दुई लाखभन्दा बढी फ्लाइट गरिसकेको छ भने एक करोड ८० लाखभन्दा बढी यात्रुले बुद्ध एयरमा यात्रा गरेका छन्।
एउटा जहाजबाट सुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटा जहाजसम्म पुगिसकेको छ। कम्पनीले निकट भविष्यमा ३ वटा एटीआर जहाज थप गर्ने योजनासमेत गरेको छ।
कम्पनीले हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको छ। हाल ४३ वटा रुटमा उडान भर्दै आएको छ भने १५ सय जना कर्मचारीहरु कार्यरत छन्।
हवाई क्षेत्र र कृषि क्षेत्र आकाश र जमिनको लगानी भए पनि आफूहरुले व्यवस्थापनमा विशेष ध्यान दिएकै कारण दुवै व्यवसायमा सफल हुनेमा विश्वस्त छन् बस्नेत।
आरजु राइस मिल आफूहरुले सुरुवात गरेको पहिलो मिल भएको र यसबाट सफलता मिलेसँगै अन्य स्थानमा समेत मिल स्थापना गर्ने तयारी रहेको उनले बताएका छन्। उनका अनुसार अब स्थापना गरिने अन्य मिलहरुमा भने किसानको लगानीसमेत सामेल गरिने छ।
हाल आरजु राइस मिलले नेपालका सबै क्षेत्रमा चामल पुर्याउने लक्ष्य लिएको छ। उनी भन्छन्, ‘हालको लक्ष्य भनेको नेपालभर पुर्याउने र भारतबाट आयात हुने चामललाई जतिसक्दो रोक्ने भन्ने नै हो।’
आफूहरुले हाल प्रयोग गर्दै आएको मिलमा उच्च गुणस्तरीय प्रविधि जडान भएकाले आरजु राइस गुणस्तरीय हुने उनी बताउँछन्। उनी भन्छन्,’उच्च गुणस्तरीय प्रविधि जडान भएको र त्यति मात्र नभएर हामीले नेपाली उत्पादनलाई नै ब्राण्डिङ गरेका हौँ, त्यति मात्र नभएर हामीले बजारमा पाइने अन्य चामलहरु भन्दा सस्तोमा बजारमा ल्याएका छौँ।’