
काठमाडौँ–रवीन्द्र मिश्रसहित चार उम्मेदवारलाई समर्थन गर्दै काठमाडौं क्षेत्र नम्बर १का ११ जना स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रसहित अन्य चार जना उम्मेदवारलाई समर्थन गर्दै ११ जना स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिनेमा हाम्रो नेपाली पार्टीका डम्बर शाहुसहित अन्य स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार देव शर्मा, मानबहादुर राई, ईन्द्रबहादुर थापा, प्रकाश नायजु, किरणकुमार पौडेल, हरेन्द्र चौधरी, मनिता लिगल श्रेष्ठ, हरिकुमार घले, मन्जुराम मगर र शान्तिदेवी केसी छन्।
समर्थनको पहिलो नम्बरमा मिश्रलाई राखेका स्वतन्त्र उम्मेदवारहरुले नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गरेका छन्।
११ जनाले उम्मेदवारी निस्कृय पारेका हुन्। उम्मेदवारी निस्कृय पार्नेबारे बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका हुन्।
‘हामी यसपटक परिवर्तनको सन्देश दिन दृढ संकल्पित छौँ। स्वतन्त्रहरु मिलेर हामीलाई इमानदार, क्षमतावान,प्रष्ट, भरपर्दो र योग्य विकल्प दिनुहोस्, हामी साथ दिन्छौं’ भन्ने सुझाव निकै ठुलो संख्यामा प्राप्त भएकाले उम्मेदवारी फिर्ता’ लिइएको विज्ञप्तिमा उल्लेख छ।
रविन्द्र मिश्र ५ बर्ष अहि नै उपविजेता भइ धेरैको रोजाइमा परेको उल्लेख गर्दै पहिलो रोजाइ मिश्र रहेको विज्ञप्तिमा उल्लेख छ । निःशर्त र राजनीतिक शुद्धिकरणका लागि आम मतदाता र जनताको चाहना अनुसार पहिलो समर्थन मिश्रलाई रहेको उनीहरुको भनाइ छ।
काठमाडौँ क्षेत्र नम्बर एकमा सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह मैदानमा छन्। स्वतन्त्र तथा बैकल्पिक ११ उम्मेदवारले कांग्रेसका सिंह विरुद्ध अन्य प्रभावशाली उम्मेदवारलाई समर्थन गरेका हुन्।
प्रकाशमान सिंह बलियो दाबेदार भएका कारण क्षेत्र नम्बर एकमा सिंह, राप्रपाका मिश्र, एमालेका पौडेल र सुशासन पार्टीका खरेलबीच भिडन्त हुने देखिएको छ।