
काठमाडौँ – विश्वका सर्वाधिक ठूलो ड्रग्स माफियाका रूपमा चर्चित कोलम्बियाका पाब्लो स्कोबर जो ड्रग्स सप्लाईका सर्वाधिक ठूला माफिया थिए। कोलम्बियाबाट ८० प्रतिशत ड्रग्स उक्त समयमा उनीमार्फत अमेरिका पुग्ने विश्वास गरिन्छ।
उनीमाथि ५ सयभन्दा बढी हत्या आरोपमा मुद्दा दर्ता भएको थियो। उनले नमारेको मान्छे कोही थिएन। राजनीतिकर्मी, पुलिस तथा जजसम्मको हत्या गरेका थिए।
२ डिसेम्बर १९९३ मा यिनै माफिया पाब्लोको हत्या हुन्छ, भनिन्छ उनको हत्यामा अमेरिकाको विशेष सैन्य दस्ता तथा कोलम्बियन सरकारको ठूलो योजनाअन्तर्गत भएको थियो। पाब्लोको ठूलो सोख भनेको फुटबल थियो। उनले फुटबलमा ठूलो लगानी गरेका थिए। जब उनको हत्या भयो, उनको माफिया ग्याङ तितरवितर भयो अर्थात् उनको अन्डरमा रहेकाहरू एकले अर्कालाई पाब्लोको उत्तराधिकारी घोषणा गर्दै झन् उग्रता मच्चाए। १९९४ को विश्वकपको तयारी गरिरहेको कोलम्बियन फुटबल टिममाथि अनेकन धम्की बढ्न थालेका थिए। प्रतियोगिता १७ जुनदेखि १७ जुलाईसम्म अमेरिकाको विभिन्न ९ सहरमा हुने तालिका थियो।
एकातर्फ पाब्लोको कुख्यातीले कोलम्बिया चर्चित थियो अर्कोतर्फ कोलम्बियन टिममा युवा फुटबल आन्द्रेस स्कोबरको उदय भएको थियो। उनी डिफेन्डरका रुपमा चर्चित थिए। विश्वकपलगत्तै उनले एसिमिलानबाट खेल्ने सम्झौतासमेत गरेका थिए।
उनी कोलम्बियाका लोकप्रिय युवा स्टार थिए। अमेरिकामा भएको विश्वकपका लागि कोलम्बियामा एक उच्च फर्ममा रहँदै छनोट भएको थियो।
कोलम्बियाले छनोटमा २ खेलबाहेक सबैमा जित निकालेको थियो। छनोट खेलको अन्तिम खेल कोलम्बियाका लागि गर या मरका रूपमा रहेको थियो। जहाँ अर्जेन्टिनालाई हराउनुपर्ने थियो। जुन खेल कोल्बियाले ५–० ले जित्दै सनसनी मच्चाएको थियो।
एकातर्फ मैदानमा कोलम्बियाले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलिरहेको थियो। देशभित्र भने ड्रग्स र हत्या, हिंसाले आक्रान्त बनिरहेको थियो।
जब पाब्लोको हत्या हुन्छ। त्यसपछि फुटबलरमाथि माफियाहरूले दबाब झनै बढ्दै जान्छ। ड्रग्स माफियाहरूले नजितेमा परिवारका सदस्य तथा खेलाडीकै हत्या गरिदिने धम्की दिन थाल्छन्। जसकारण डराएका खेलाडी कमजोर मनोबलका साथ अमेरिका पुग्छन्।
अमेरिका पुगेपछि कोलम्बियाको पहिलो खेल १८ जुनमा रोमानियाविरुद्व खेल्छ रोमानियासँग पहिलो खेल नै ३–१ ले हार्छ। त्यसपछि टिममाथि झनै दबाब बढ्छ।
दोस्रो खेल आयोजक अमेरिकासँग थियो। त्यसअघि अमेरिकासँग भएका मैत्रीपूर्ण खेलमा कोलम्बियाले जित निकालेको थियो। यो खेलमा कोलम्बियालाई जित्नै पर्ने दबाब थियो।
अमेरिकासँगको खेलको एक दिनअघि टिम मिटिङमा प्रशिक्षक फ्रान्सिसको माटुराना टिमका खेलाडीसँग रुँदै भने, ‘कोलम्बियाबाट एक धम्कीपूर्ण फोन आएको छ यदि गाब्रियल गोमेजलाई खेलाएको खण्डमा सम्पूर्ण टिमको हत्या गर्ने उनीहरूले बताएका छन्।’
जबकि गोमेज टिमका महत्वपूर्ण सदस्य थिए। उनलाई पहिलो खेलमा खराब प्रदर्शन गरेको भन्दै माफियाले टिममा नराख्न प्रशिक्षकलाई धम्की दिएका थिए। त्यसपछि प्रशिक्षकले सारा खेलाडीको जीवन दाउमा नराख्ने भन्दै स्टार खेलाडी गोमेजलाई टिममा नराख्ने निर्णय लिए।
अनेक धम्कीका बाबजुत कोलम्बिया टिम अमेरिकाविरुद्ध मैदानमा उत्रिन्छ। खेल सुरु हुन्छ। जब ३५ मिनेटको खेल चल्दै हुन्छ। अमेरिकी स्ट्राइकले गोल अगाडि बढाउँदै गर्दा डिफेन्डर आन्द्रेस स्कोबरले रोक्न प्रयास गर्दै थिए। जहाँ उनले रोक्ने प्रयास गर्दा गर्दै उनको आफ्नै खुट्टाले बल जोगाउने प्रयासमा आफ्नै पोस्टमा गोल हुन पुग्छ।
त्यसपछि दुबै टिमबाट थप १–१ गोल हुँदा २–१ ले कोलम्बिया पराजित भयो तर स्कोबरको आत्मघाती गोलका कारण कोलम्बिया पराजित भएको भन्दै उनीविरुद्ध कोलम्बियामा माफियाले अनेक धम्की दिन थाले। समूहको अन्तिम खेलमा उसले स्विट्जरल्यान्डलाई २–० ले हरायो। तर, कोलम्बिया अन्तिम १६ मा पुग्न असफल भयो। कोलम्बियमा आन्द्रेस स्कोबर सर्वाधिक ठूलो भिलेन बने।
कोलम्बियामा उनीप्रति ठूलो विमति थियो। तर, उनले आफ्नो गल्ति नभएको भन्दै स्वदेश फर्किएर आफ्ना समर्थकलाई सम्झाउने प्रयास गर्ने बताए।
उनका कैयौं शुभचिन्तकले कोलम्बिया नजान आग्रह गरेका थिए। तर, आन्द्रेस मानेन्। ८ दिनपछि उनी स्वदेश फर्किए। उनलाई परिवार र साथीभाइले हौसला बढाए। उनको राम्रो छवि थियो। आत्मघाती गोल भएको १० दिन भइसकेको थियो। उनले जुन २२ मा आत्मघाती गोल गरेका थिए। त्यसपछि २ जुलाई १९९४ मा उनी घरबाहिर गाडीमा निस्कन्छन्। एल इन्डियो नाइट क्लबमा जान्छन्। त्यहाँबाट उनी आफ्नो गाडी लिन पार्किङमा निस्कन्छन्। जब उनी कारमा बस्छन्, पछाडिबाट गोली चल्छ। हरेक एक गोलीमा लामो गोलको लामो आवाजसहित उनीमाथि लगातार ६ गोली प्रहार गरिन्छ। त्यसपछि गोली हान्नेहरू फरार हुन्छन्। क्लबबाट झर्नेहरूले स्कोबरको हत्या भएको देख्छन्। उनलाई अस्पताल लगिन्छ तर डक्टरले मृत घोषणा गर्छन्। क्षणभरमै यो समाचार संसारभर फैलिन्छ। उनले आत्मघाती गोल गरेकै कारण उनको हत्या गरेको पक्राउ परेका अभियुक्तले बताएका थिए।
उनीहरूले पाब्लोका उत्तराधिकारी घोषणा गर्ने मान्छेले नै ठूलो मात्रामा पैसा हारेपछि उनको हत्याको निर्देशन दिएका थिए।
आन्द्रेसको अन्तिम संस्कारमा करिब २–३ लाख मानिस सडकमा उत्रिएको बताइन्छ। अमेरिकामा विश्वकप सकिएको थिएन। त्यसपछि हरेकजस्तो खेलमा उनले न्याय पाउनुपर्ने भन्दै ब्यानर लिएर खेलाडी मैदानमा उत्रिएका थिए। उनको सहरमा आन्द्रेसको अर्धकदको सालिक बनाइयो। अहिले पनि हरेक उनको डेथ एनिभर्सरीमा मानिसहरू उनलाई सम्झनाका लागि ठूलो मात्रामा सालिक छेउमा उपस्थित हुने गर्छन्।
उनले केवल २७ वर्षमै आफ्नो ज्यान गुमाउन पुगेका थिए। अफसोस ! विश्वकप फुटबलमा यो निकै दर्दनाक दिनका रुपमा सम्झने गरिन्छ।