प्रतिनिधिसभाका नवनिर्वाचित सांसद तथा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसँगको अन्तर्वार्ता

‘सांसद बने पनि म शैली बदल्दिनँ’ (भिडियो)

+
-

काठमाडौँ– जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र शाहीले भ्रष्टाचार र बेथितिबारे अब सदनमा बुलन्द आवाज उठाउने बताएका छन्। मंसिर ४ को आम निर्वाचनमार्फत धेरै युवा सदनमा प्रवेश गर्दै गर्दा युवाका मुद्दा नीति निर्माण तहबाटै सुनिश्चित गर्न बल पुगेको उनको तर्क छ।

बिना एजेन्डा चुनाव लड्दा समेत मुख्य प्रतिस्पर्धीलाई दोब्बर मतले पछि पारेर संसद भवनको यात्रा तय गरेका शाहीले जुम्लाका प्राकृतिक स्रोतलाई स्थानीयले वैज्ञानिक तवर प्रयोग गर्न पाउनुपर्ने मुद्दालाई प्राथमिकता दिएका छन्। जुम्लाका अर्गानिक उत्पादन (जडिबुटी, मार्सीधान, स्याउ, ओखर, आरु) लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने र त्यसैलाई मुख्य आर्थिक स्रोत बनाउने उनको उद्देश्य छ।

भ्रष्टाचार र मुलुकको बेथितिबारे सडक र सामाजिक सञ्जालमार्फत खबरदारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएर पार्टी राजनीतिको यात्रा सुरु गरेका उनले पार्टी प्रवेश गर्दैमा राप्रपाको प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

सदन प्रवेशसँगै उनले बोक्ने एजेन्डा र प्रस्तुत हुने शैली कस्ता हुन्छन्, मुलुकमा स्वतन्त्र तथा वैकल्पिक शक्ति उदयको संकेत, सदनमा युवाको उपस्थितिले पार्ने खास फरक र पार्टी र राष्ट्रिय राजनीतिमा उनको भविष्यबारे. प्रतिनिधिसभाका नवनिर्वाचित सांसद तथा राप्रपा प्रवक्ता शाहीसँग देशसञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश:

सांसद बनेपछि पोशाक बदल्नुभएछ, अब शैली पनि बदल्नुहुन्छ कि?
हैन, अब त्यस्तो हुँदैन, के शैली? हिजो हामीले के शैली नराम्रो गरेका थियौँ र? हत्या, हिंसा गरेर आएकाहरुले आफ्नो शैली बदल्नुपर्ने हुन्छ, हामी त जुन कुरा गलत छ त्यो कुरालाई गलत भनेको न हो, किन बदल्ने? गलत कामको आवाज उठाउन शैली बदल्नुपर्छ जस्तो लाग्दैन।

भ्रष्टाचारविरुद्ध र अन्य बेथितिबारे सामाजिक सञ्जाल र सडकमा बसेर चर्को बोल्नुहुन्थ्यो, सडकमा पनि अब त्यसरी नै बोल्नुहुन्छ?
बोेलिन्छ, किन नबोल्ने, मजाले बोल्छु। म बोलेपछि देशमा धेरै किसिमका भ्रष्टाचारी तथा देशद्रोहीहरु सजग हुनुभयो, मलाई जनताले अनुमोदन गरेर संसदमा पुर्‍याएपछि त्यो आवाज तलमाथि केही पनि हुँदैन।

शैली परिर्वतन गर्दिन भन्दै गर्दा पनि तपाईँले चुनाव जितेपछि सडक आन्दोलनमा हुँदा जस्तो चर्को नबोले पनि अब मेरो आवाज सुनिन्छ, सुन्नुपर्छ भन्नुभएको छ, नरम बोल्ने भन्दै गर्दा आफ्ना मूल मुद्दा नै बिर्सिनुभयो भने नि?
हामीले गर्ने सडक आन्दोलन अब सदन आन्दोलनमा मात्रै परिर्वतन भएको हो। सडकमा रहँदैको जस्तो स्वर निकाल्नुपर्छ भन्ने त नरहला। सडक आन्दोलन सदन आन्दोलनमा स्थापित गर्नुपर्ने छ। हामी दरिलो प्रतिपक्षी भएर आवाज उठाउनेछौँ। भ्रष्टाचार र बेथितिका बिरुद्धमा हामी एकढिक्का भएर अघि बढ्छौँ। नरम बोल्ने बहानामा एजेन्डाहरु भुल्ने भन्ने हुँदैन। अर्को कुरा भोलि के हुन्छ भन्नेबारे अहिले सोध्नु भन्दा पनि भोलि बिर्सिएपछि सोध्ने कुरा हो।

राप्रपा सरकारमा नजानेमा एकमत हो कि पार्टी विभाजित छ?
सरकारमा नजानेमा हाम्रो पार्टी एकमत छ। पद र कुर्सीको लडाईंमा नलाग्ने भन्ने हाम्रो मान्यता हो। सरकारमा जानेनजाने बिषयमा धेरै छलफल गर्नुपर्ने छैन। नजाने भनेर करिब करिब निर्णय नै भइसकेको छ। अहिले हामी सरकार बन्ने,बनाउने खेलमा नलाग्ने भन्नेमा एकमत छौँ।

राप्रपाको ५ सय ९१ मात्रै भोट भएको जुम्लामा सोही पार्टीकोतर्फबाट उम्मेदवार बनेर चुनाव जित्नुभयोे, पार्टीका लागि तपाईँको जित प्रत्यासित हो कि अप्रत्यासित?
राप्रपाको लागि मेरो जित अप्रत्यासित हो। किनभने हाम्रो पार्टी बलियो थिएन र आज पनि संगठन बलियो देखिँदैन। व्यक्तिको हिसाबमा हालिएको भोट हो। समानुपातिक भोट प्रदेशमा राम्रो आएको छ। संघमा झन् राम्रो आएको छ, तर सोचेजति राम्रो भने आएको छैन। तर व्यक्तिगत रुपमा मलाई मेरा मतदाताले रोज्नुभएको छ आशा गर्नुभएको छ,मप्रति भरोसा गरेर मतदान गरिहाल्नुभयो, ममाथि मेरा क्षेत्रका मतदाताले आशा गर्नुभएको छ, त्यो आशालाई म निराश गर्दिन।

प्रमुख प्रतिस्पर्धी भन्दा दोब्बर मतान्तरले विजयी हुनुभएको छ। तपाईलाई जुम्लाका जनताले किन अनुमोदन गर्नुभयो? तपाईंले के आस देखाउनुभयो?
मलाई किन अनुमोदन गर्नुभयो भनेर मलाई सोध्नुभन्दा पनि मतदातालाई सोध्नुपर्ने हुन्छ। मलाई लाग्छ मतदाताले सत्य र इमान्दार व्यक्तिलाई जिताएर पठाउनुभएको हो। मैले त्यस्ता किसिमका कुनै योजना आयोजना बनाएको थिइन, म पहिलो व्यक्ति एजेन्डाबिना चुनाव जिते, मैले सोचेँ, म पहिला चुनाव जित्छु अनि एजेन्डा बनाउँछु। हरेक महिना जुम्ला पुग्ने मेरो प्रतिवद्धता छ। चुनावमा मतदाताले जिताइदिनुभयो अव जनताको कुरा सुनेर काम गर्छु।

जुम्लामा आमा र जन्मभूमि सम्झेर चुनाव लड्न गएको हुँ भन्नुभएको थियो, एजेन्डा पनि थिएनन्, जिल्लाबासीको सहानुभूतिले चुनाव जित्नुभएको हो?
म जहाँबाट चुनाव लडेपनि जित्ने पक्का थियो। काठमाडौँ क्षेत्र नम्बर दुईका दुबै वटा प्रदेशमा राप्रपाले जितेको छ। स्थानीय तहमा पनि जितेका थियौँ। प्रतिनिधिसभामा हार भयो, त्यो ठाउँमा पाएको टिकट छोडेर म जुम्ला गएको हुँ। म कुनै सहानुभूतिले जितेको होइन । आमा भनेर काखमा गएँ,आमाले आशिर्वाद दिएर पठाउनुभयो, अब छोराले असल काम गर्ने हो।

पुराना तथा स्थापित राजनीतिक दलहरुसँग आक्रोशित भएर जनताले स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारलाई मत खन्याएको भए पनि तपाईं लगायत अन्य युवा वैकल्पिक तथा स्वतन्त्र व्यक्ति पनि उपयुक्त विकल्प होइन भनेका छन् जनताले, तपाईं चाहिँ के भन्नुहुन्छ?
हामीले काम सुरु नगर्दै हामी उपयुक्त विकल्प होइनौँ भन्न मिल्दैन। यो हामीलाई ५ वर्षपछि सोध्ने हो किनकि अहिले त हामीले सपथ त खाएका छैनौँ, भरखर सुरुवात हुँदैछ। संसदको बैठक बोलाएको छैन। हामी नवनिर्वाचित हौँ, हामीलाई भरोसा गर्नुस्। केही हुँदैन भन्ने हो भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उपत्यका व्यवस्थापनमा राम्रा कामको सुरुवात गर्नुभएको छ। एक जना व्यक्तिले केहि गर्न खोज्यो भने हुँदो रहेछ भन्ने उदाहरण बालेनजी पनि हो। अब हामी संसदमा गएपछि राष्ट्रघाती निर्णयहरु रोक्छौँ। आशा, ऊर्जा, क्षमता र काम गर्ने अभिलाषाको साथ हामी आएका छौँ, त्यसलाई हामी पूरा गर्छौँ।

नयाँ सांसदले सपथ नखाँदै आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको काम गर्न खोजेको भन्दै विवादित बनेका छन्, तपाईंलाई सांसदको काम कर्तव्य र अधिकार थाहा छ?
हामी हिजो सांसद नहुँदै पनि काम गर्थ्यौँ नि हैन र? अहिले फरक मात्रै भएको हो, अहिले सांसद भन्नुहुन्छ, हिजो ज्ञानेन्द्र शाही भन्नुहुन्थ्यो। हिजो अभियन्ता भन्नुहुन्थ्यो, आज सांसद भन्नुहुन्छ, त्यत्ति फरक होइन र? काम एउटै हो, जनताको सेवा गर्ने काम जहाँ सुकैबाट गर्ने हो। जनताको सेवा गर्नलाई नीति, नियम र कानुनले अवरोध गर्दैन। जुम्लामा नुनको अभावको कारण लाइन लागिराख्नुभएको छ स्थानीय। तपाईं काम नगर्नुस् भन्नुहुन्छ, त्यहाँका नागरिकको यथार्थ यस्तो छ।

सदनमा यसपटक धेरै युवाहरु प्रवेश गर्दैगर्दा नीति, निर्माण र निर्णयमा खास के फरक पर्छ?
धेरै फरक पर्छ। हाम्रा स्रोतमाथि स्थानीयको प्रयोग छैन। यसकारण हामी गरिब भएका छौँ। यसलाई उत्पादन र प्रयोगमा ल्याउने गरी नीति बनाउछौँ। स्थानीयले प्राकृतिक स्रोतलाई वैज्ञानिक ढंगले प्रयोग गर्न पाउनुपर्छ, त्यसको सदुपयोग गर्न सकियो भने मात्रै देश विकास हुन्छ।

तपाईं गणतन्त्रमा विश्वास राख्नुहुन्छ?
नेपालमा जुन अभ्यास गरिँदैछ, वास्तवमा यो गणतन्त्र नै होइन भन्छु म। गणतन्त्रमा जनताबाट निर्वाचित कार्यकारी हुन्छ। हामी सांसद त जनताबाट चुनिएर आयौँ तर के प्रधानमन्त्री जनताबाट निर्वाचित भएर आउँछ? गणतन्त्रमा समानुपातिक कोटा हुँदैन, उक्त कोटामा समेत शीर्ष नेता निकटका व्यक्ति राखेका छन्। शिक्षाको लागि आज कसैले पैसा तिरेर दोहोरो शिक्षा लैजानुपरेको छ, अस्पतालमा जाँदा उपचार पाइदैन, प्रहरी कार्यालयमा कोही गरिब जनताको निवेदन लेखिँदैन। त्यसकारण म यसलाई गणतन्त्र मान्दिन।

संघीयता र धर्मनिरपेक्षताबारे तपाईंको बुझाई के हो?
संघीयतामा स्थानीय तहको आवश्यकता छ। प्रदेश आवश्यक छैन। प्रदेश खारेज नगरेसम्म मुलुक अगाडि बढ्दैन। म धर्मनिरपेक्षताको विमतिमा छु।

राप्रापा प्रवेश गर्दैमा पार्टी प्रवक्ता बन्नुभयो, पार्टीमा राजनीतिक भविष्य के हो तपाईंको?
त्यो भोलिको कुरा हो। मैले असल र राम्रो काम गरेँ भने रुचाउनुहुन्छ, खराब काम गरेँ भने म अस्वीकृत हुन्छु। तर अब हामी पार्टीलाई झन् दौडाउछौँ, तपाईले नै मलाई संसदमा एक सिट मात्रै भएको र राष्ट्रिय दल पनि नबनेको पार्टीको प्रवक्ता हो तपाईँ भन्नुभएको थियो, अहिले सदनमा हामी दरिलो रुपमा प्रस्तुत हुँदैछौँ। सदनमा हाम्रो १४ सिट भएको छ। परिर्वतनका संकेतहरु देखिएका छन्।

पार्टी सरकारमा सहभागी हुँदैन भन्नुभएको छ,तपाईं सांसद बन्नुभयो,मन्त्री बन्ने चाहना छैन?
तत्काललाई त्यो चाहना छैन। हामी प्रतिपक्षमा बसेर खबरदारी गर्ने हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?