
धनगढी – प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा स्थापना गरिएको ‘हेलो सिएम’ मा दुई महिनामा एक सय १० गुनासो परेका छन् । प्रदेश सरकार गठन भएको तीन महिनापछि जेठ ७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै कार्यकक्षमा ‘हेलो सिएम’ कार्यक्रमको सुरुवात गरेका थिए ।
उक्त कार्यक्रम स्थापना गरिएको करिब दुई महिना पुग्नै लाग्दा एक सय १० गुनासा प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता विसनसिह थापाले बताए ।
तर हालसम्म ‘हेलो सिएम’ कार्यक्रममा परेका कुनै पनि गुनासाहरुको समाधान भएको छैन् । मन्त्री परिषद् कार्यालयका प्रवक्ता थापाका अनुसार सबैभन्दा बढी सडक पूर्वाधार सम्बन्धी २६ वटा गुनासा दर्ता भएका छन् ।
त्यसपछि विद्युत सम्बन्धी २५ र सुशासन सम्बन्धी ६ वटा गुनासा प्राप्त भएका थापाले जानकारी दिए । अन्य गुनासोमा ट्राफिक व्यवस्थापन, एयरपोर्ट, बैकिङ, सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, भ्रष्टचार, छाडा पुश चौपाया व्यवस्थापन सम्बन्धी छन् ।
‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले तत्काल समाधान गर्नुपर्ने विषयलाई ४ घण्टाभित्र र सामान्य विषयमा आएका गुनासो तिन चार दिनभित्र समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रम सुरुवातकै दिए ट्राफिक व्यवस्थापन सम्बन्धी आएको गुनासोे सम्बोधनका लागि मुख्यमन्त्रीले तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुखलाई फोन गरि व्यवस्थापन गर्न निर्देशन दिएका थिए । तर अहिले धनगढीमा ट्राफिक व्यवस्थापन झन अस्तव्यस्त बन्दै गएको छ ।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त सम्बन्धि गुनासो मात्रै नभई कुनै पनि गुनासाको समाधान हुन नसकेको स्वयम मन्त्री परिषदको कार्यालयका कर्मचारी बताउँछन् ।
‘हालसम्म ‘हेला सिएम’ मा परेका गुनासोे सुनुवाई भएको भन्ने कुनै जानकारी आएको छैन ।’ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता थापाले भने, ‘हामीले जुन मन्त्रालयसग सम्बन्धित गुनासो छन् ति मन्त्रालयमा समाधानका लागि खबर पुगाउनेसम्मको काम गरेका छौ ।’
पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२७२३ मा फोन गरेर विहान ७ देखि साझ ७ बजेसम्म जनताले गुनासोे र समस्या सिधै ‘हेलो सिएम’ कार्यक्रम मार्फत प्रदेश सरकार समक्ष राख्न पाउने व्यवस्था गरिएको छ ।
तर, परेका गुनासोको सुनुवाई हुन नसक्दा ‘हेलो सिएम’ कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।