
सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीले बुधवारबाट महिलाका लागि गर्भनिरोधक अस्थायी साधन इम्प्लान्ट सेवा सुुरु गरेको छ। स्वास्थ्य चौकी दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएपछि सो सेवा सुुरु भएको हो।
सिमकोट गाउँपालिका–२ को ठेहे स्वास्थ्यचौकीका इन्चार्ज दानबहादुुर बोहराले गाउँकै स्वास्थ्यचौकीमा महिलाका लागि गर्भनिरोधक अस्थायी साधान इम्प्लान्ट सेवा प्रदान गर्न सुुरु भएको बताए।
उनले पहिलो दिन ठेहे गाउँकी एक जना महिलाबाट सो सेवा प्रदान गरिएको बताए। यसअघि साधन नभएको र जनशक्ति पनि अभाव भएका कारण स्वास्थ्य चौकीले उक्त सेवा प्रदान गर्न सकेको थिएन।
उनले आफूसहित दुुई जना स्वास्थ्यकर्मीले तालिम प्राप्त गरेपछि गाउँको स्वास्थ्य चौकीमा सेवा प्रदान गर्न सफल भएको बताए।
यसअघि गाउँपालिकाको स्वास्थ्य शाखाबाट त्यसका लागि आवश्यक उपकरण पनि उपलब्ध भएको थिएन। अहिले उपकरण प्राप्त भएको र जनशक्तिले तालिम पाएपछि सेवा प्रदान गर्न सम्भव भएको हो।
यसअघि महिलाले सो साधन प्रयोग गर्न चाहना राखेमा जिल्ला अस्पतालमा पठाउनुुपर्ने बाध्यता थियो। अब भने स्वास्थ्य चौकीबाटै सेवा नियमित रुपमा प्रदान गरिने भएको छ।