
काठमाडौँ– बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ आगामी पुस १३ गते हुने भएको छ।
ज्येष्ठ सांसदले प्रदेश प्रमुखसँग शपथ खाएर बाँकी सांसदलाई शपथ खुवाउने व्यवस्था छ। बाँकी सांसदको शपथ पुस १४ गतेको लागि तय गरिएको छ। बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसो २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ ग्रहण कार्यक्रम राख्ने सहमति जुटेको हो।
ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम तय गरिएको छ । प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम पुस १४ गते दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ। बाँकि सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउनेछन्।
संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ। सोहि अनुसार बागमती प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेलसम्मका लागि ढुंगानाले बैठकको अध्यक्षता गर्नेछन् । बागमती प्रदेश सभाको पहिलो बैठक यहि पुस १७ वा १८ गते राख्ने विषयमा पनि छलफल भएको छ।
निर्वाचन आयोगले गएको पुस २ गते प्रदेश प्रमुख शर्मा समक्ष निर्वाचन परिणाम पेश गरेको थियो। संवैधानिक व्यवस्था अनुसार पुस २२ गतेभित्र पहिलो बैठक बसिसक्नुपर्ने हुन्छ । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चुनिनुपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा सरकारले त्यही अनुसारको तयारी गर्नुपर्ने हुन्छ।