
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको एक गुफामा फसेका बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्धार गर्ने अभियान फेरि सुरु हुँदैछ । उद्धार कर्मीले उच्च जोखिमसहितको उद्धार अभियानबाट अहिलेसम्म ८ बालकलाई बाहिर निकालेका छन् ।
आइतबारदेखि फसेकाहरुलाई बाहिर निकाल्नका लागि जोखिमयुक्त उद्धार अभियान सुरु भएको हो । पहिलो दिन उद्धारकर्मीले चार बालकलाई बाहिर निकालेका थिए ।
दोस्रो दिन सोमबार पनि थप चार बालकलाई गुफाबाट बाहिर निकालेका छन् ।
अब गुफामा चार बालक र उनीहरुका फुटबल प्रशिक्षक गरी पाँचजना रहेका छन् । उनीहरुलाई पनि मंगलबार उद्धार गरिने थाइल्याण्डका अधिकारीले बताएका छन् । उद्धारमा खटिएका डाइभरहरुले उनीहरुलाई गुफाबाट बाहिर निकाल्नका लागि चाहिने तयारी गरिरहेका छन् ।
गुफामा बाँकी रहेका चार बालक र उनीहरुका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरु उद्धारकर्मीसँगै डाइभ गरेर निस्कनका लागि तयार रहेको बताइएको छ । गुफामा बाढी पसेको तथा बाहिर निस्कने बाटो साँघुरो रहेकाले समस्या भएको छ ।
दुई दिनमा बाहिर निकालिएका ८ बालकको स्वास्थ्य अवस्था राम्रो रहेको सरकारी अधिकारीले बताएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गुफामा फसेकाहरुको उद्धारका लागि ९० जना खटिएका छन् । त्यसमा ५० जना विदेशी छन् भने ४० जना थाइल्याण्डका रहेका छन् ।
गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।
चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए । उद्धारकर्मीमा विश्वका उत्कृष्ट ‘केभ डाइभर्स’ छन् । उनीहरुले गुफाको अँध्यारो तथा साँघुरो प्वालबाट फसेकाहरुलाई गुफाको मुख तिर ल्याएका छन् ।