
काठमाडाैँ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि हालसम्म दुई जनाको उम्मेदवारी परेको छ।
आज हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन्।
उनीहरूले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौँडामा गएर उम्मेदवारी दर्ता गराएका हुन्। बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ छन्।
यस्तै, लामाको प्रस्तावकमा कुन्दनराज काफ्ले हुनुहुन्छ भने समर्थनमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार छन्।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरी निर्वाचन कार्यक्रम सञ्चालन गरिएको छ।
दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।