
धनगढी- सेती अञ्चल अस्पताल धनगढीमा विशिष्ट व्यक्ति (भिआईपी) का लागि छुट्टै उपचार कक्ष स्थापना गर्ने काम सुरु भएको छ ।
त्यसका लागि अस्पताल प्रशासनले कक्षको टुङगो लगाई सकेर निमार्णको काम पनि सुरु गरिसकेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सजन केसीले जानकारी दिए ।
यसअघि मुख्यमन्त्री त्रिलोचन भट्ट बिरामी हुदा राम्रो शैया नभएको भन्दै उनलाई निवासमै राखेर उपचार गरिएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको थियो ।
त्यसपछि मात्रै अस्पतालमा भिआईपी उपचार कक्ष स्थापना हुनुपर्ने कुरा उठेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केसीले सबैको सुझावअनुसार भिआईपीका लागि छुट्टै उपचार कक्ष निमार्ण थालिएको बताए । उनले यसअघि डाइलसिस कक्ष रहेको स्थानलाई अब विशिष्ट ब्यक्तीहरुको उपचार कक्ष बनाउन लागिएको जानकारी दिए ।
उक्त कक्षमा पहिले डाईलसिस मेसिन राखेका कारण एसी जडान गरिएको छ । बढीमा एक हप्ताभित्रै अस्पतालमा विशिष्ट व्यक्तिको उपचार कक्ष स्थापना भईसक्ने केसीले बताए ।