दाङ – लुम्बिनी प्रदेशसभाकाे पहिलो अधिवेसनको अध्यक्षता गुल्मीका डिल्लीराज भुसालले गर्ने भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनका अनुसार गुल्मी प्रदेशसभा २(१)बाट निर्वाचित ६९ वर्षीय सांसद् भुसालले जेष्ठताको आधारमा सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्ने भएका हुन्।
कानुनी व्यवस्था अनुसार सभामुख र उपसभामुखकाे छनाेट नभएसम्म जेष्ठताको आधारमा अधिवेसनको अध्यक्षता गराउने प्रावधान छ। साेही बमाेजिम लुम्बिनीका जेष्ठ सांसद् ६९ वर्षीय भुसालले प्रदेश प्रमुख शेरचनद्वारा साे जिम्मेवारी पाएका हुन्।
बुवा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट २०१० साल जेठ ७ मा जन्मिएका रेसुङ्गा नगरपालिका- १ नयाँबजार तम्घास निवासी भुसाल नेकपा एमालेबाट निर्वाचित भएका हुन्। यसअघिकाे स्थानीय तहकाे निर्वाचनमा रेसुङ्गा नगरपालिका गुल्मीको प्रमुखसमेत रहेका भुसाल हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन्।
२०३८ सालमा माले पार्टीमा आबद्ध भइ राजनीतिक यात्रा तय गरेका भुसालले लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पार्टी इन्चार्ज तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी निभाइसकेका छन्। तम्घास अस्पातल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योग वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका भुसाल दर्जनौँ सामाजिक संघसंस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

उनै भुसाललाई लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो। ‘प्रदेश सभाको गरिमा र संघीय लोकतान्त्रीक गणतन्त्रको सुदृढीकरणनै अहिलेको आवश्यकता हो’ भुसाल भन्छन्,‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु। प्रदेशसभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछ।’

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































