सुकेतु मेहता, युवराज दाइ र नेपालका कथा

सुकेतु मेहता, युवराज दाइ र नेपालका कथा
+
-

पोखरामा अघिल्लो साता आयोजित नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन, सधैँझैँ युवराज दाइ (पत्रकार युवराज घिमिरे) र म लेकसाइडमा मर्निङ वाक गर्दै थियौँ। माछापुच्छ्रे उत्तरपट्टी टलक्क टल्किसकेको थियो, सराङकोटपारि। फेवा किनारमा टहलिँदै गर्दा मैले सराङकोटतिरका डाँडातर्फ अन्नपूर्ण केबलकारका पोलहरु देखाउँदै युवराज दाइलाई सोधेँ– ‘तपाईं सराङकोट जानुभएको छ?’

मैले थपेँ, ‘त्यहाँबाट देखिने सूर्योदय र हिमालका दृश्यहरु निकै रमणीय हुन्छन्।’

जवाफमा दाइले त्यहाँ आफू अहिलेसम्म नगएको बताउनुभयो। हाँस्दै मैले भनेँ, ‘दाइ! तपाईंको ससुराली पनि पोखरा, अनि तपाईं अहिलेसम्म पनि सराङकोट जानुभएको छैन?’

हुन त लामो समयसम्म काठमाडौँ आडैको नगरकोटसम्म पनि नपुग्नुभएका युवराज दाइका लागि सराङकोट नपुग्नु त्यत्ति अनौठो भने थिएन।

केहीबेरको हिँडाइपछि हामी बाटोतिर निस्कियौँ, एउटा ट्याक्सी रोक्यौँ र  अन्नपूर्ण केबलकारतिर लाग्यौँ। केबलकारमा चढेर हामी सराङकोट पुग्यौँ।  डाँडामाथि रमणीय दृश्य हेरेर तल फर्किँदै थियौँ, केबलकारको लिफ्टमा मैले कोही चिनेको अनुहार देखेँ- ‘म्याक्सिमम सिटी बम्बे: लस्ट एण्ड फाउण्ड’का लेखक सुकेतु मेहेता। मैले युवराज दाइलाई भनेँ, ‘दाइ! ऊ तपाईंले हिजोदेखि भेट्न खोज्नुभएको सुकेतु मेहेता।’

दाइले ‘होइन होला’ भन्नुभयो। हामी केबलकार नजिकैको रेस्टुरेन्टमा कफी खान छिर्‍यौँ।

छेउकै टेबलमा सुकेतु मेहेता हुनुहुन्थ्यो। केहीबेरमा युवराज दाइ उठेर उहाँको टेबलमा जानुभयो र सोध्नुभयो, ‘आर यू सुकेतु मेहेता?’

सुकेतु मेहेताले  जवाफ फर्काउनुभयो, ‘एस आइ एम सुकेतु मेहेता।’

युवराज दाइले ‘आइ एम युवराज घिमिरे’ भन्नेबित्तिकै सुकेतुको अनुहार उज्यालो भयो।

सुकेतुले भन्नुभयो, ‘आइ आक्स्ड अबाउट यु यस्टर्डे।’

उहाँले आयोजकहरुलाई युवराज दाइको बारेमा सोध्नु भएको रहेछ। कस्तो अचम्म! सन् १९९२ मा भारतमा भएको बाबरी मस्जिद घटनामा उहाँहरु सँगै काम गर्नु भएको रहेछ। ३० वर्षपछि भेट्दा भएको शारीरिक परिवर्तनले एकअर्कालाई चिन्न उहाँहरुलाई गाह्रो भएको रहेछ।

सुकेतु मेहतासँग गफिँदै लेखक रवीनकुमार दाहाल।

उहाँहरु आफ्ना साथीहरुको बारे गफ गर्न थाल्नुभयो, को कहाँ छ, के गर्दै छ, आफ्ना ‘कमन’ साथीहरुको बारेमा कुरा गर्दै सुकेतुले मलाई युवराजसँग आफ्नो फोटो खिचिदिन अनुरोध गर्नुभयो। दुई घाघडान लेखकहरुको एकसाथ फोटो खिच्न पाउनु मेरा लागि पनि सम्झनलायक क्षण थियो।

उहाँले युवराज दाइलाई त्यो फोटो उहाँहरुको साथी रामलाई पठाइदिन अनुरोध गर्नुभयो। कुराकानीका क्रममा सुकेतुले हालसालै उहाँ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वान टु वान भएको भेटवार्ताको प्रसङ्ग पनि सुनाउनुभयो। आफ्नो आउन लागेका अन्य किताब, फिल्म अनि किताब लेख्दाको रोचक र डरलाग्दा कथाहरु सुन्दा म पनि खुसी भएँ।

हिमाल आफूलाई एकदम मनपर्ने भन्दै सुकेतुले उत्तरतिर टल्किएका माछापुच्छ्रे र  अन्नपूर्ण हिमालहरुतिर औँला तेर्स्याउनुभयो। आफ्ना ८५ वर्षीय पितालाई पनि हिमाल औधि मनपर्ने भएकोले एकचोटि पोखरा ल्याउने इच्छा पनि उहाँले सुनाउनुभयो। सुकेतुले मलाई अमेरिका आएको बेला आफूलाई भेट्न सुझाउँदै भन्नुभयो- ‘अब कहिले आउनुहुन्छ?’

मैले जुनमा अमेरिका जाँदा उहाँलाई भेट्ने बताएँ।

यस्तै कुरा गर्दै केहीबेर हामीले उहाँका रोचक प्रसंगहरुको मज्जा लियौँ। त्यसपछि हामी तल झर्‍यौँ। केबलकार चढ्नुअघि उहाँले छेउको डाँडामा उक्लिएर केही तस्बिरहरु खिच्नुभयो। युवराज दाइ र म तल केवल कारको छेउमा उनलाई पर्खिरह्यौँ।

यहीबीच युवराज दाइको लगातार बजिरहने मोबाइल फोनमा भारतमा एक चर्चित बिजेपी नेताको फोन आयो। नेपालमा नयाँ सरकार गठनको तयारी हुँदै थियो। युवराज दाइले ‘ह्यान्ड्स फ्री’ गरेको फोनमा ती नेताले भनेको सुनियो- ‘युवराज, ह्वाट केपी ओली इज डुइङ?’

नयाँ सरकार गठनका लागि दाबी गर्न राष्ट्रपतिले दिएको म्याद सकिन केही दिनमात्र बाँकी थियो।

उनले युवराज दाइलाई सोधे, ‘केपी ओली त्यत्तिकै बस्ने मान्छेजस्तो लाग्छन्?’

उनको कुराकानीबाट ओलीले सत्ता समीकरणका लागि केही खेलिरहेको संकेत दिल्लीले महसुस गरेको बुझिन्थ्यो।

दुई दिनअघि यस पंक्तिकारले बालुवाटारमा शेरबहादुर देउवालाई भेट्दा ‘यसपटक प्रधानमन्त्री हुन गाह्रो छ’ भनिरहेका थिए। मैले बिजेपी नेताको त्यो फोनलाई देउवाको हतासासँग जोडेँ।

दुई दिनपछि केपी ओली नेपाली राजनीतिको सबैभन्दा महत्त्वपूर्ण पात्रमा रुपान्तरण भइसकेका थिए, प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्दै।

सुकेतु फोटो खिचेर तल आएपछि हामी सँगै केबलकारमा लेकसाइड झर्‍यौँ।

सुकेतु मेहेता।

केबलकारमा कतार विश्वकप र त्यहाँका स्टेडियम बनाउँदाका बेला मारिएका नेपालीबारे न्यूयोर्क टाइम्समा छापिएको लेख र १ हजार ६०० नेपालीको मृत्युको बारेमा नेपालमा नदेखिएको चासो र नलेखिएका कथाहरुको प्रसंग निस्कियो। सुकेतुले सोध्नुभयो, ‘किन कोही नेपालीहरु यो कथाहरु लेखिरहेका छैनन्?’

यही प्रसङ्गमा मैले केही वर्ष पहिला विराटनगरमा चलाएको बालकल्याण विद्या मन्दिरमा कक्षा ४ मा पढ्ने एक विद्यार्थीका पिताको मृत्युपछि उसले काम गर्ने कम्पनीले उसको पढाइ र उसको परिवारलाई गरेको आर्थिक सहयोगबारे बताएँ। यस्ता थुप्रै घटनाहरुमा कतारका कम्पनीहरुले गरेको सहयोगको रेकर्ड सायद नेपाल सरकारसँग नहुन सक्छ।

हुन त पोखरा लिटरेचर फेस्टिबलमा कतार विश्वकप फुटबलका कुराहरु नउठेका होइनन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एम्बाप्पेले सबभन्दा बढी गोल गरेको तर विश्वकप मेसीले लगेको प्रसंगहरु उठाए। गगनले आफूलाई विश्वकपको फाइनल हेर्ने निम्ता आए पनि कतारमा मारिएका नेपालीहरुको नाममा सांकेतिक रुपमा आफू नगएको जानकारी गराए। केही दिनअघि काठमाडौँमा शेरबहादुर देउवालाई विश्वप्रकाशले विश्वकप फुटबल पाँचचोटि जितेको ब्राजिल छैटौँचोटि कतार विश्वकपमा हारेको प्रसंग सुनाउँदै देउवालाई पनि छैटौँचोटि प्रधानमन्त्री हुन गाह्रो भएको व्यंग्य कसेका थिए।

भर्खरै प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई भारतीय टेलिभिजन एबीपीका अन्तर्वार्ताकार दिवाङ्गले एम्बाप्पेले कतार विश्वकप नजितेको तर मेसी कम गोल गर्दै विश्वकप जित्न सफल भएको उल्लेख गर्दै  दाहाललाई मेसीसँग दाँज्दा उनी निकै खुसी देखिन्थे। तर, कतारमा मारिएका १ हजार ६०० नेपालीबारे कसैले प्रभावकारी रुपमा कुरा गरेको सुनिएको छैन। नेपालमा भन्दा बढी नेपालीहरुको मानवअधिकारबारे विदेशीलाई बढी चासो हुँदो रहेछ। नेपालीले भन्दा बढी यस्ता कथा विदेशीहरुले नै नेपालीहरुका लागि लेखिदिँदा रहेछन्।

सुकेतु मेहता, युवराज घिमिरे र फेस्टिबल आयोजक।

२००८/२००९ तिर क्रिस्टियन स्टोनले लेखेको सामाजिक शिक्षा किताब नेपालमा कक्षा ८ र १० मा पढाइ हुन्थ्यो। शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई विदेशीले नेपालबारे लेखेको किताब किन पढाइ भएको भनेर सोध्दा दातृ निकायका व्यक्तिहरुलाई टार्न नसकिने निराशाजनक जवाफ दिएका थिए। उनको चार वर्षअगाडि निधन भइसकेको छ। हाम्रो घरभित्रका कुरा पढाइ हुने सामाजिक शिक्षामा युरोपेलीले लेखेको किताब पढ्नुपर्ने नेपाली बाध्यताले डरलाग्दो चित्र प्रस्तुत गर्थ्यो।

आखिर किन पुर्खाका कुरा, नेपालमा भएका विकासका कुरा, नेपाली विद्यालयमा पढाइ हुने किताबका कुरा नेपालीले लेखिरहेका छैनन्? विदेशका रोमाञ्चक कथामा मात्र रमाउने नेपालीले आफ्ना कथाहरु आफै लेख्न कहिले सुरु गर्ने?

तस्बिरहरु: मिमांशा ढुंगेल
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?