कांग्रेस नेत्री सीता देवकोटासँग अन्तवार्ता

कांग्रेस महामन्त्रीहरु असक्षम छन्– नेत्री देवकोटा

कांग्रेस महामन्त्रीहरु असक्षम छन्– नेत्री देवकोटा
+
-

काठमाडौँ– कांग्रेस नेत्री सीता देवकोटाले पार्टीको राजनीतिक हैसियत कमजोर हुँदै जानुमा पार्टी पदाधिकारीहरु बढी जिम्मेवार रहेको बताएकी छन्। पार्टीको राजनीतिक हैसियत र साख गिर्दै जानुमा पार्टी सभापति, महामन्त्रीदेखि अन्य पदाधिकारीहरु बढी जिम्मेवार रहेको उनको भनाइ छ।

गत स्थानीय तह निर्वाचन र आम निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरुप नतिजा नआउनु, जनताको म्यान्डेट विपरीत कांग्रेस सरकार बाहिर बस्नुपर्ने अवस्था आइलाग्नु,पार्टीभित्रको गुट समस्या समाधानउन्मुख नहुनुमा समग्र पार्टी र विशेष गरी पदाधिकारी जिम्मेवार रहेको देवकोटाको तर्क छ।

पार्टीकी केन्द्रीय सदस्य रहेकी नेत्री देवकोटासँग कांग्रेस संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सचिवालयमा बसेर काम गरेको अनुभव छ। राजनीतिमा भट्टराईबाट प्रेरित देवकोटाले पार्टी राजनीतिको अहिलेको असहज परिस्थितिलाई सहज बनाउन कांग्रेसले सादगी नेता भट्टराईको विचारबाट सिक्नुपर्नेमा जोड दिएकी छन्।

पार्टी र राष्ट्रिय राजनीतिको समसामयिक विषयवस्तुमा केन्द्रित भएर नेत्री देवकोटासँग देशसञ्चारका लागि ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश:

पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सत्ता समीकरणप्रति तपाईको बुझाइ के हो?
यो एउटा राजनीतिक बेइमानी हो। कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध भएर निर्वाचन जितेर सत्ता समीकरण बनाउन केपी ओलीसँग जानुभयो, प्रचण्डले राजनीतिक बेइमानी गर्नुभयो।

प्रचण्डले विश्वासको मत लिनुअघि नै कांग्रेसले राजेन्द्र लिङ्देनको नेतृत्वमा सत्ता समीकरण बनाउने गृहकार्य गरिरहेको चर्चामा कति सत्यता छ? अब यस्तो सत्ता समीकरण निर्माणको सम्भावना देख्नुहुन्छ तपाईँ?
यस्तो खालको सत्ता समीकरणको निर्माण असम्भव त छैन। राजनीतिमा हरेक कुराहरु सम्भव हुन्छन्। यस्ता अनेकौँ विकल्पबारे कांग्रेसले पहिले नै सोच्न सक्थ्यो। कांग्रेस जुन जुन दलहरुको साथमा निर्वाचनमा होमिएको थियो, सोही दलसँगै सत्ता समीकरण बनाउने योजनामा थियो। अन्य दलसँग सहकार्य गर्नै खोजेन। किनभने कांग्रेससँग एउटा इमानदारी थियो। तर, अहिलेको राजनीतिक अवस्थालाई हेर्दा प्रचण्ड नेतृत्वको सरकार लामो समय अगाडि बढ्दैन कि भन्ने पनि छ। हिजोका दिनमा झण्डै दुई तिहाइ बहुमतको सरकार त टिक्न सकेन भने आज बनेको समीकरणमा पनि समस्या नआउला भन्न सकिन्न। भोलि समस्या आउनु छ भने आजै सच्चिएर किन अघि नबढ्ने भनेर वैकल्पिक सत्ता समीकरणबारे छलफलहरु भएका हुन सक्छन्।

कस्ता आधार र कारणले ‘प्रचण्ड’ नेतृत्वको सरकार लामो समय टिक्दैन भन्नुभएको हो?
अहिले नै देखिएको छ। सरकारले निर्देशन दिएको छ, निर्देशन दिँदैमा काम बन्छ भन्ने छैन। सरकारले निर्देशन दिने पनि होइन, उसले त नीति बनाइदिने हो। सरकार बनिसकेको अवस्थापछि निर्देशन दिने प्रक्रिया अगाडि बढ्यो तर नीति बनाउने प्रक्रिया अगाडि बढ्न सकेन। सरकारमा सामेल भएका नयाँ राजनीतिक दलदेखि प्रधानमन्त्री प्रचण्डसम्मले निर्देशन दिनुभयो। निर्देशन दिएको भरका कर्मचारीले काम गर्न पनि नमानेको अवस्था छ। बिहानले दिनको संकेत गर्छ भनेझैँ सरकारका सुरुवाती लक्षणले राम्रो संकेत गरेको छैन।

सत्ता समीकरणमा कांग्रेसलाई धोका दिएर ओलीसँग सहकार्य गर्न पुगेका प्रचण्डलाई भोलिका दिनमा कांग्रेसले विश्वास गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन?
राजनीतिमा यो दललाई विश्वास गर्ने कि नगर्ने भन्नु भन्दा पनि देशलाई कसरी सही बाटोमा हिँडाउन सकिन्छ त्यो महत्वपूर्ण हुन्छ। प्रचण्ड, राजेन्द्र लिङ्देन, रवि लामिछाने वा अन्य कुनै व्यक्ति भन्दा पनि राज्यलाई सही बाटोमा हिँडाउन कसको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरा हो। कांग्रेसले देशलाई केन्द्रमा राख्छ। देशको हितका खातिर व्यक्ति गौण हुन्छ।

कांग्रेसको राजनीतिक हैसियत कमजोर बन्दै जानुमा को बढी जिम्मेवार र दोषी देख्नुहुन्छ तपाई?
पार्टीभित्र को दोषी भन्नुभन्दा पनि जिम्मेवारी सबैको हो। दोषी यही व्यक्ति हो भन्ने मलाई लाग्दैन। म पार्टीको केन्द्रीय सदस्य भएको हैसियतले मेरो जिम्मेवारी पनि उत्तिकै छ। पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका सबै पदाधिकारीको जिम्मेवारी अझै विशेष छ। हाम्रो पार्टीको विधानले पार्टीका महामन्त्रीहरुलाई अत्यन्तै शक्तिशाली अधिकार दिएको छ ।  कांग्रेसको विधानमा उपसभापतिको अध्यक्षतामा कुनै पनि विशेष अधिवेशन वा विद्रोही समूहको कार्यक्रम र छलफल बोलाउनसक्ने अवस्था छैन। महामन्त्रीलाई भने उक्त अधिकार छ। यति ठूलो अधिकार भएको पदमा युवाहरुलाई हाम्रो पार्टीमा अघि बढाएका छौँ। महामन्त्रीहरुले विधान बुझ्नुभएन,अधिकार बुझ्नुभएन वा गर्न चाहनुभएन त्यो बेग्लै कुरा हो। महामन्त्रीले अत्यन्तै जिम्मेवारीपुर्वक भूमिका निर्वाह गर्नुपर्थ्यो। हाम्रा महामन्त्रीहरुलाई असक्षम नै भन्नुपर्छ।
नयाँ पुस्तालाई हामीले नै अगाडि बढायौँ, पदाधिकारीमा पुर्‍यायौँ, तर उहाँहरुले कुरा बुझ्नुभएन। पार्टीको महामन्त्री जस्तो गरिमामय पदलाई मैले कसरी निर्वाह गर्ने भन्ने ज्ञान रहनेछ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई तपाईँले असक्षम भन्नुभयो तर पार्टीमा थापा र शर्माका धेरै समर्थक छन्,अन्य दलका नेता कार्यकर्ता र राजनीतिक वृत्तमा पनि उनीहरुलाई रुचाइन्छ नि?
भीड र जमात त गगन थापा र विश्वप्रकाश शर्मासँग मात्रै होइन, रवि लामिछानेसँग पनि छ। रवि लामिछानेसँग पनि एकाथरि जमातले अपेक्षा गरिरहेको छ। राजनीतिमा चलखेल छ, जुन जनतालाई थाहा छैन। जनतालाई त नयाँ र युवा व्यक्ति नेतृत्वमा आउँदा विकास हुन्छ भन्ने छ।

पार्टीमा नेता कार्यकर्तालाई विभिन्न आरोपमा कारवाही हुँदै आएको छ। यस्तो प्रकारको कारबाही नेतृत्वलाई चाहिँ कसले गर्ने? के पार्टी नेतृत्व र शीर्ष नेताले चाहिँ गल्ती नै गर्दैनन् भन्ने छ हो पार्टीभित्र? शीर्ष नेताले गल्ती गर्दा कारबाही गर्नुपर्छ भन्ने माग किन उठाउन सक्नुहुन्न तपाईँहरु?
पार्टीको बैठकमा यी कुराहरु उठ्छन्। आगामी बैठकमा पनि उठ्लान्। अनुशासनको मापदण्ड के हो भन्ने प्रश्न मुख्य हो। पार्टीमा सभापतिदेखि साधारण सदस्यसम्मले अनुशासनमा रहनुपर्ने हुन्छ। पार्टी सधै भद्रगोल तरिकाले जाँदैन र जान दिनु पनि हुँदैन।

आम निर्वाचनमा प्रचण्डलाई भोट हालेर चुनाव जिताउन गोरखाका जनतासँग आग्रह गरेजस्तै कांग्रेसले सदनमा आफ्ना सांसदसँग प्रचण्डलाई विश्वासको मत दिएर जिताऊ भनेर आफ्ना सांसदलाई भन्न मिल्छ वा मिल्दैन के लाग्छ तपाईँलाई?
यो विश्वासको मत दिने,नदिने भन्ने कुरा देशलाई कुन बेला कस्तो नेतृत्व आवश्यक हुन्छ भन्ने परिवेशले निर्णय गर्ने हो। प्रचण्ड खराब भएपछि हामीले हाम्रा पार्टी सभापति शेर बहादुर देउवालाई पनि खराब भन्न सक्नुपर्छ। विश्वप्रकाश शर्मा, गगन थापा, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतलाई पनि हामीले खराब भन्न सक्नुपर्छ। प्रचण्डलाई कांग्रेसले नदिँदा पनि विश्वासको मत पुग्छ। हाम्रो जरुरी छैन। यो बिषयमा कांग्रेस प्रवेश गर्नुपर्ने पनि छैन। आवश्यक परेको खण्डमा कांग्रेसले पनि सोच्थ्यो होला। हामीले प्रचण्डलाई मत दिनुपर्छ भन्ने पनि हैन। मत नदिएर बिशाल विरोध गर्नुपर्छ भन्ने पनि छैन।

पार्टी गुटको राजनीतिभन्दा माथि उठ्न सकेको छैन। जनताले सरकार सञ्चालनको लागि म्यान्डेट दिएपनि सभापतिको हठको कारण प्रतिपक्षमा बस्नुपरेको असहज परिस्थिति छ। यसलाई सहज बनाइदिन तपाईँ र तपाई जस्ता नेताको हैसियत र भूमिका कस्तो रहन्छ?
व्यक्तिको कारण नभई खुबी र विचारको कारण गुट बन्छ। हिजो गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग विचार मिल्नेहरु पनि विभाजित थिए। स्थापनाकालमा पनि सुवर्ण शमशेर, बिपी कोइरालाको विचार मन पराउने एकथरि थिए। व्यक्ति मन परेर नभई विचारको कारण समूह बनेको हो। नेता र विचार नितान्त फरक बिषय हो। आज मलाई एउटा नेताको विचार मन परेको छ भने सधैँ त्यही नेताको विचार मन पर्छ भन्ने छैन। भोलिमा दिनमा अर्कै नेताको विचारले म प्रभावित हुन सक्छु। कुन नेताले जुन राम्रो मुद्दा बोकेको एजेन्डा अघि सार्छन्, त्यही आधारमा विचार समूह बन्ने हो। आज मैले एउटा नेतालाई समर्थन गर्दैमा सधैँ उही नेतालाई समर्थन गर्ने हुँदैन। नेतृत्वतहले सही र गलत छुट्याउन सक्नुपर्छ। नेता शेखर कोइरालाको कारण पार्टीलाई चाहिने र सक्षम नेता डा. मिनेन्द्र रिजाल संसदमा प्रवेश गर्न पाउनुभएन। विचार समूहको कारण नेताहरु विभाजित छन्। पार्टी भागबन्डाकै आधारमा चुनावमा होमिएको थियो। प्रतिशत लिएर शेखरजीहरुले राम्रा मान्छे दिन सक्नुभएन।

पार्टी सभापतिकी श्रीमती आरजु राणा नै पार्टीको हर्ताकर्ता हुन्, देउवा प्रधानमन्त्री बनेका बेला देउवाले नभई आरजुले देश चलाउँछिन्, उनले देश मात्रै चलाउँदिनन्, सीमित व्यक्तिलाई भेट्ने, शक्ति र सत्ताको आडमा नजिकका व्यक्तिलाई संरक्षण गर्ने, लाभ दिने भनेर उनलाई शक्तिमा भएकी भ्रष्ट महिला जसले पार्टी र राष्ट्रिय राजनीतिमा क्षति पुर्‍याएकी छन् भनिन्छ। तपाई नेत्री राणाको निकट हुनुहुन्छ, तपाई आरजु राणालाई कसरी परिभाषित गर्नुहुन्छ?
आरजुले देश चलाएकी छन् भन्ने सुन्दा मलाई गर्व लाग्छ। एउटा महिलाले देश चलाएकी छन् भन्ने सुन्दा खुसी लाग्छ। महिलाले देश र पार्टी चलाउँदै गर्दा पुरुषको त कुनै खुबी नै रहेनछ भन्ने लाग्छ मलाई। पुरुषहरु पनि महिलाकै विरोध गर्ने त रहेछन्। अरुले गर्न नसकेका काम आरजुले गर्नुहुन्छ भने उहाँ खुबी भएको महिला हो। तर घटनाक्रमलाई विरोध मात्रै गर्ने काम भएको छ, त्यो पनि पार्टीभित्रैबाट विरोध गर्ने काम भएको छ। बाहिर भएको छैन। सबैभन्दा विडम्बना विरोध हुनु हो। सभापतिको विरोध गरेर कहिल्यै पनि पार्टी बलियो हुँदैन। हामीले शेरबहादुरको बिरोध गर्ने नाममा पार्टी कमजोर गराइरहेका छौँ भन्ने कुरा भुल्नु हुँदैन। पार्टीमा शेरबहादुर देउवा एक जना व्यक्ति मात्रै होइन। हिजो कार्यकर्ताहरुले मत दिएर देउवालाई नजिताएको भए हुन्थ्यो, त्यति बेला नै देउवालाई सभापति बन्न बाट रोक्न सक्नुहुन्थ्यो। त्यहिबेला जिताउने र जिताएपछि विरोध गर्ने यो खराब प्रवृत्ति हो।

संसदमा होस् वा कार्यकर्तासँग आरजुले दिएका अभिव्यक्ति विवादित छन्, पार्टीमा चर्को आलोचना हुँदै गर्दा पनि तपाईलाई आरजु प्रभावशाली महिलाको रुपमा किन चिनाउँदै हुनुहुन्छ?
उहाँले भन्न खोजेको बिषय ठिक भएपनि राम्रोसँग प्रस्तुत गर्न नसक्नुभएको हो। उहाँको नेपाली भाषा धेरै राम्रो नभएको कारण भन्न खोज्नुभएको कुराको कहिलेकाहिँ अनर्थ हुन गएको मात्रै हो। उहाँको अंग्रेजी भाषा राम्रो छ। त्यसलाई नेपालीमा उल्था गरेर भन्न खोज्दा कहिलेकाहिँ गलत अर्थ लाग्न पुगेको हुनसक्छ। उहाँले नियतबश गलत अभिव्यक्ति दिनुभएको होइन। उहाँ नेपाली भाषामा प्रखर हुन नसक्दाको परिणाम हो। काम नगर्दा पनि महिलाहरुसँग केही रहेनछ भनेर आलोचना हुन्छ। काम गर्न खोज्दा कहिलेकाहिँ तलमाथि हुन्छ, त्यस्तो अवस्थामा आलोचना भएका हुन्। उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। दुई पटक सांसद बन्नुभएको हो। चुनाव लडिसकेको व्यक्ति हुनुहुन्छ। यसपटक पनि समानुपातिक कोटाबाट सांसद बन्नुभएको छ। उहाँ हैसियत भएकी नेत्री भएका कारण चर्चा र आलोचना हुन्छ।

लामो इतिहास बोकेको कांग्रेसमा यो निर्वाचनसम्म आईपुग्दा महिलाको स्थिति ज्यादै कमजोर बन्यो नि, किन?
यो निर्वाचनको कुरा गर्ने हो भने देशभर महिला मतदाता बढी थिए। तर, महिला अधिकारकर्मी र महिलावादीलाई नै मेरो प्रश्न छ, किन महिला उम्मेदवारलाई भोट दिनुभएन ? महिला प्रतिस्पर्धी भएका स्थानमा महिला उम्मेदवारले भोट दिन नसक्दा महिला पराजित हुनुपर्ने अवस्था हुने थिएन। महिलाले यो विषय बुझ्न सक्नुपर्छ। महिलाले आफ्नो विवेक प्रयोग गर्न सक्नुपर्छ। विगतमा दुईचार जना महिला लडेर खाएर मात्रै हुँदैन जस्तो लाग्छ मलाई। महिला उम्मेदवार कम उठाइएको पनि थियो, यसले गर्दा पनि सोही अनुसारको परिणाम आएको हो।

आरजु राणा र नेता बालकृष्ण खाँणकी श्रीमती मन्जु खाँणको कारण समानुपातिक प्रणालीमा कांग्रेसको धेरै भोट घट्यो भन्ने आरोप छ पार्टीमा, यस विषयमा छुट्टै छलफल हुनुपर्दैन?
उहाँहरुको कारण पार्टीमा पाँच लाख भोट घट्यो भन्ने आरोप लागेको छ। अन्य दलमा पनि नेताका परिवारका व्यक्तिहरु हुन्छन्। तर त्यहाँ बिरोध हुँदैन। हाम्रो पार्टीमा जम्मा यी दुई जना नेत्री श्रीमतीहरु उम्मेदवार बनेका थिए। तर धेरै नै विरोध भयो। पार्टीभित्रैबाट बढी हल्ला गर्ने काम भइरहेको छ।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?