
काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा अबिरल वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय रहेकाले पूर्वदेखि पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् । विशेष गरी मध्य क्षेत्रको काठमाडौँ उपत्यकासहित अधिकांश ठाउँमा अबिरल वर्षा भएको छ ।
यो वर्षा रोकिन अझै केही घण्टा लाग्ने मौसमविद पोख्रेलको भनाई छ । यस्तै पश्चिमका अधिकांश क्षेत्र र सुदूरपश्चिमका तराई तथा पहाडी क्षेत्रमा पनि पानी परिरहेको छ ।
बिहीबार दिनभर देशभरको मौसम सामान्यतया बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै मध्य तथा पश्चिमका केही ठाउँ र पूर्वका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अझै केही दिन देशभरको मौसम यस्तै रहने देखिएको छ ।