
काठमाडौँ- पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका विषयमा जानकारी दिन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गर्ने भएको छ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेको हो।
आकस्मिक बैठकको निर्णय सुनाउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्।
उनले भने, ‘घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्यहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ।’
सरकारले दुर्घटनामा मृत्यु भएकाहरुको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उनले बताएका छन्।
काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।