
काठमाडौँ – भक्तपुरमा आएको बाढी सम्भवतः अहिलेसम्मकै ठूलो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आफूहरुले बाढीको सूचना राख्न सुरु गरेदेखिको तथ्यांक हेर्दा भक्तपुरमा अहिले गएको बाढी ठूलो रहेको बाढी विशेषज्ञ विनोद पराजुलले जानकारी दिए ।
याेसहित पछिल्लो चार वर्षमा यस्तै खालको बाढी दुईपटक गइसकेको उनले देश सञ्चारलाई जानकारी दिएका छन् । तर यसअघिकाे भन्दा अहिलेकाे बाढी प्रभावका हिसाबले सबैभन्दा ठूलो रहेको पराजुलीले बताए ।
भक्तपुर क्षेत्रमा बुधबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण राधेराधेसहितका क्षेत्रमा बाढी भएको छ । धेरै क्षेत्र जलमग्न भएका छन् ।
घर, स्कुल, बाटो तथा सार्वजनिक स्थलसबै डुबानमा परेका छन् । बुधबार बेलुकादेखि बिहीबार बिहानसम्म भक्तपुरमा १२९.६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले आएको बाढी वर्षाका हिसाबले नभइ बाढीका हिसाबले ठूलो रहेको पराजुलीले बताए । उनले भने, ‘अहिले परेको पानी ठूलो हो तर धेरै ठूलो होइन । काठमाडौँ उपत्यकामा ४०० मिलिमिटर भन्दा धेरै पानी परेको रेकर्ड छ । त्यसको तुलनामा अहिलेको वर्षा सानो हो । तर यसले निम्त्याएको बाढी ठूलो भएको छ ।’
नदी आसपासका क्षेत्रलाई मिचेर भौतिक संरचना बनाउने तथा अरु निर्माणका काम भएकाले नदी संकुचन हुँदा यस्तो अवस्था आएको उनले बताए । बर्सेनि नदीको बगर क्षेत्र कम हुँदै गएकाले पनि समस्या बढी देखिएको उनको भनाई छ ।
यस्तै मनोहरासहितका काठमाडौँ उपत्यकाका साना नदीहरुमा बाढी पूर्वानुमान सूचना प्रणाली राख्न नसकिएकाले पनि सर्वसाधारण नागरिक समस्यामा परेको पराजुलीको भनाई छ ।
मनोहरा खोलाको रिङ्गरोड क्षेत्रमा मात्रै पूर्वसूचना प्रणाली रहेको र बाढी त्यो भन्दा माथिल्लो क्षेत्रमा गएकाले समस्या देखिएको उनले बताए ।
पराजुलीले भने, ‘सूचना प्रणालीमा हाम्रो तर्फबाट ग्याप भएको छ । तर हरेक वर्ष भइरहेका निर्माणहरुले नदी फैलिएर बग्न पाउने अवस्था नरहेकाले थप अप्ठ्यारो भएको हो ।’
आउँदो वर्षमा हुन सक्ने यस्तै खालको बाढीबाट जोगिनका लागि नदी आसपासका क्षेत्रमा भएका निर्माण र त्यसले नदीको फैलावटमा पारेको असरको विस्तृत सर्वे गर्नु पर्ने देखिएको उनले बताएका छन् ।
तत्कालका लागि भने सर्वसाधारण आफै सचेत रहनु पर्ने देखिएको र आफूहरु पनि सम्भावित खतराको पूर्वसूचना दिनका लागि तयारी अवस्थामा रहेको उनले बताए ।