काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)लाई चलचित्र निर्देशक तथा निर्माता विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत् प्रश्न सोधे।
सामाजिक सञ्जालमा आम जनताले उठाउने गरेका प्रश्नहरू समेटेर बालेनलाई ‘मेन्सन’ गर्दै उनले ‘भत्काउन बाहेक अरू के गर्नु भएको छ?’ भनेर प्रश्न गरेका थिए। सो पोष्टमा मेयर बालेनले भण्डारीलाई हेपाहा शैलीका जवाफ दिएका थिए। उनले जवाफमा भनेका छन्, ‘तिम्राे सो पैसाको भोटले जित्छ, तिमी पैसा कमाउन आएका हौँ, तिम्रो अस्तित्व पैसा बाहेक केही छैन। तिमीलाई जीवनमा पैसा बाहेक केही कमाउनु छैन। तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन।’
भण्डारीले बालेनलाई यो प्रश्न माघ ७ गते शनिबार सोधेका थिए। त्यसको भोलिपल्ट माघ ८ गते भण्डारीले सामाजिक सञ्जालमा पुन: एक पोष्ट गरे। जसमा भनिएको छ, ‘मैले प्रश्न सोधेको माफ पाऊँ श्री ८ बालेन शाह। भत्काउनुबाहेक के बनाउनुभयो ?????’
बालेनले सो प्रश्नको समेत अपाच्य जवाफ दिएका छन्। उनले जवाफमा भनेका छन्, ‘प्रश्न सोध्न पाइन्छ भाइ! काम गरिरहेको मान्छेलाई, दारु खाएर रातिराति दु:ख दिन पाइँदैन। तिम्रो गाउँको मेयरले के गरिरहेका छन् थाहा छ?’
मेयर बालेनले आफूभन्दा उमेरले बढी भएका भण्डारीलाई भाइ भन्दै अपाच्य जवाफ फर्काएपछि भण्डारीले पुन: सामाजिक सञ्जालमा घुमाउरो शैलीमा ‘२-४ दिन जिम गएर आफूभन्दा साना मान्छे मेयर बने भने आफूभन्दा ठूलालाई पनि भाइ देख्ने रहेछन्’ भन्दै पोष्ट गरे। जसमा मेयर बालेन शाहलाई ‘मेन्सन’ नगरिए पनि त्यो पोष्ट उनकै लागि हो भनेर प्रष्टै छुट्याउन सकिन्थ्याे।
भण्डारीले गरेको पोष्टमा धेरैले बालेनलाई उनले जस्तै प्रश्न गरेका छन्। बालेनजी डोजर लगाएर भत्काउन बाहेक अरू के गर्नुभएको छ? प्रश्नका उत्तरहरूबाट कहिलेसम्म भाग्नुहुन्छ? जस्ता प्रश्न कमेन्टमार्फत आइरहेका छन्।
मेयर बालेनकाे हेपाहा र अपाच्य शैलीको जवाफपछि सामाजिक सञ्जालमा उनकाे चर्को विरोध भइरहेको छ। स्थानीय तहको चुनाव ताका नयाँ र ऊर्जाशील व्यक्ति, देश विकास गर्न सक्ने व्यक्ति, देशले चाहेको व्यक्तिलगायतका विभिन्न उपनाम दिएकाहरू पछिल्लो समय आक्रोशित बनेका छन्। उनीहरू आक्रोशित बन्नु स्वाभाविक पनि हो। बालेन शाह काठमाडौँ महानगरपालिकाका मेयर हुन्, उनलाई आम जनताले भोट दिएर जिताएका हुन्। केही नयाँ परिवर्तन देखिन्छ कि भनेर उनलाई चुनेका हुन्।
बालेन काठमाडौँबासीका लागि जनप्रतिनिधि हुन्। जनप्रतिनिधिलाई आम जनताले आफ्ना माग राख्न पाउनु या उनीहरूले गरेका राम्रा नराम्रा कामबारे प्रश्न राख्न पाउने अधिकार नेपालको संविधानले नै दिएको कुरा हो। तर मेयर बालेन भने आम जनताको र मिडियाको प्रश्नबाट सधैँ तर्किने गरेका छन्। आम जनताले सोधेको प्रश्नको जवाफ सामाजिक सञ्जालमार्फत् मात्रै दिने, मिडियाकर्मीले केही प्रश्न सोधे उनीहरूलाई तँ को होस्? किन प्रश्न सोधेको? यहाँ आउने अधिकार कसले दियो? जस्ता असभ्य शब्दहरू प्रयोग गरी धम्क्याउने गरेका उदाहरणहरू यसअघि नै बाहिर आइसकेका छन्।
त्यस्तै, मेयर बालेनको र रविको उदाहरण दिँदै कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा पोष्ट गरे। जसमा भनिएको छ, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौँ विश्वास गर्याैँ, अब रवि बालेनहरू आएका छन् उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौँ।’ गिरीको सो पोष्टमा समेत बालेनले अपत्यारिलो जवाफ फर्काएका छन्। उनले जवाफमा भनेका छन्, ‘बालेनहरू? बालेन कति जना हो? बालेनजस्तै अरू पनि २-३ जना छन्?’
गिरीले बालेनको पक्षमा गरेको पोष्टमासमेत यस्तो जवाफ आएपछि सामाजिक सञ्जालकर्ता तथा आम जनता भने आक्रोशित बनेका छन्। बालेनलाई जुन आशा र भरोसाका साथ भोट दिएर जिताइएको हो, त्यो व्यर्थ भयो भन्नसमेत थालिसकेका छन्।
बालेनको सामाजिक सञ्जालमा उग्र जवाफ दिने बानी र अन्य समयमा आम जनता तथा मिडियाको जवाफ नै नफर्काउने बानीका कारण उनीमाथि थुप्रै प्रश्नहरूसमेत उठ्न थालेका छन्। के बालेनलाई कसैले प्रश्न सोध्न नै नपाउने हुन्? नेपालको संविधानमासमेत उल्लेख भएको प्रश्न सोध्न पाउने अधिकार बालेनमा लागू हुँदैन? के बालेन भगवान हुन्? जवाफ दिन नसक्ने जनप्रतिनिधिको के काम? जस्ता थुप्रै प्रश्न सामाजिक सञ्जालमार्फत् आम जनताले उठाइरहेका छन्।
जवाफ दिन भन्ने बितिक्कै आम जनताबाट र मिडियाबाट पन्छिदै आएका मेयर बालेनले ‘ट्राेल’ पेजलाई भने जवाफ फर्काउन भ्याउँछन्। ‘मिम नेपहप’ नामक फेसबुक पेजले मेयर बालेनको फोटो सामाजिक सञ्जालमा राख्दै ‘बालेन दाइ के छ हालचाल?’ भनेर साेधेकाे थियो। बालेनले २० मिनेटमै जवाफ फर्काए, ‘हाहा ठिक छ हौ, के छ खबर!’
केही समयअघि ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजलाई समेत ‘आइ लभ यु रुटु’ भनेका थिए।
काठमाडौँ महानगरपालिकाका मेयर पदमा रहेका व्यक्तिकाे यस्तो हर्कतले उनी अन्य प्रश्नबाट पन्छिरहेको स्पष्टै देख्न सकिन्छ। मेयर बालेन शाह आफ्नो कार्यव्यस्थताका कारण प्रश्नबाट पन्छिएका होइनन् भन्ने कुरालाईसमेत यसले स्पष्ट पार्छ।
यति मात्रै होइन, यसअघि पनि थुप्रै उदाहरणहरू छन् जसको जवाफ दिनबाट बालेन पन्छिने गरेका छन्। विभिन्न स्थानका मेयरहरूसँगको भेटघाट र परामर्शजस्तो सार्वजनिक कार्यक्रममा सहभागी भएका मेयर बालेन शाह काठमाडौँको फोहोर व्यवस्थापनको विषयमा प्रश्न उठेपछि जवाफ दिनुको सट्टा कार्यक्रम नै छाडेर हिडेका थिए। यसबाट उनी प्रश्नबाट भागेको मात्रै नभइ गैरजिम्मेवारसमेत बनेको देखिन्छ।
मेयर बालेन शाह स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि निर्वाचित भएपछि आजका मितिसम्म कुनै पनि प्रश्नको जवाफ दिएका छैनन् भन्दा फरक पर्दैन। बालेनको यो अटेरीपनकाे कारण आम जनताले बालेनबाट राखेको अपेक्षा बालुवामा पानी खन्याएसरह बन्दै गएको छ। दलका पुराना नेताहरूले केही गरेनन् भन्दै नयाँ अनुहारलाई स्थान दिएका आम जनताहरू बालेनले जवाफ नदिने र हेपाहा शैलीमा जवाफ फर्काउने बानीका कारण दिन प्रतिदिन निराश बन्दै गएका छन्।
मेयर बालेन शाहको सामाजिक सञ्जालमा उग्र रूपमा जवाफ फर्काउने र अन्य आम जनता तथा मिडियाको प्रश्न सुन्नै नमान्नेप्रति आक्रोशित जनताहरू पछिल्लो समय आन्दोलनमा समेत उत्रिएका छन्।
त्यति मात्रै होइन, मेयर शाहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति काठमाडौँले पनि माइतीघर मण्डलामा भेला भएर आइतबार विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले जनप्रतिनिधि भएर जनतालाई दु:ख दिने काम नगर्न मेयर शाहलाई चेतावनीसमेत दिएका थिए। मेयर शाहले पछिल्लो समय महानगरपालिकाको क्षेत्राधिकार भन्दा बाहिर गएर डोजर चलाउने गरेको आरोप छ।