
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी लिन प्रहरी र अध्यागमन विभागले मंगलबार अस्वीकार गरेका छन्।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज सफल (पौडेल) जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेको हो ।
नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले जाहेरी दर्ता नगरिएको काठमाडौं प्रहरी परिसरका एक प्रहरी अधिकारीले बताएका छन्।
पौडेलले लामिछानेविरुद्ध अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । यद्यपि अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको छ ।
प्रहरीमा पौडेलले बुझाएको जाहेरीमा अमेरिकी नागरिक र राहदानीबाहक रहेको अवस्थामा रवि लामिछानेले नेपाली राहदानी कानूनको बर्खिलाप हुने गरी नेपाली राहदानी समेत लिई दोहोरो राहदानी राख्ने एवं दोहोरो राहदानी प्रचलन गर्ने समेतको कसूरजन्य कामकारवाही गरेको उल्लेख गरेका छन्।
प्रहरीमा बुझाइएको जाहेरीमा भनिएको छ, ‘निजले वारदात घटना हुँदाको मितिमा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) तथा हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित राहदानी सम्बन्धी कसूर गरेको हुनाले कसुरदार निज रवि लामिछानेलाई तत्कालै नियन्त्रणमा लिई उक्त राहदानी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कानून बमोजिम मुद्दा चलाई कानूनी कारवाही गरी हदैसम्म सजाय होस् भनी यो जाहेरी दरखास्त पेश गरेको छु ।’
राहदानी ऐनको दफा २१ (क)मा झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै उनले अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएका छन् । उक्त जाहेरीमा लामिछानेले ‘जाली राहदानी’ प्रयोग गरेको आरोप लगाउदै अध्यागमन ऐन अनुसार छानबिन र कारवाही गर्न माग गरेका छन्।
अध्यागमन विभागमा बुझाइएको पत्रमा भनिएको छ, ‘निज रबि लामिछानले आफु अमेरिकी नागरिक भएको बखतमा केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्न सक्ने नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरेका छन सो कानूनद्वारा बर्जित र दण्डनीय छ । अध्यागमन ऐनको दफा ५ बिपरित भई दफा १० अन्तर्गत दण्डनीय भएको हुँदा सो ऐनको दफा ८ बमोजिम तत्कालै र शक्तिशाली व्यक्ति हुन् भनि कुनै पनि मोलाहिजा नगरी छानबिन र कार्यबाहीको प्रक्रिया अघि बढाई निज रबि लामिछानलाई कानूनको दायरा भित्र ल्याउने कर्तब्य यहाँले पुरा गर्नु हुनेछ भनी यहाँलाई जानकारी दिन चाहान्छु ।’
ऐनको दफा ५ मा रहेको ‘जाली राहदानी वा भिसा प्रयोग गर्न नहुने’ सम्बन्धी प्रावधानमा भनिएको छ, ‘कसैले आफ्नो नाम, उमेर, राष्ट्रियता वा अन्य कुनै कुरा ढाँट्न, झुठ्ठा विवरण दिन वा जाली राहदानी वा भिसा प्रयोग गर्न गराउन हुँदैन ।’
जाहेरीमा राहदानी ऐनको उल्लंघन गरी लामिछानेले झुटो विवरण पेश गरेर राहदानी लिएको उल्लेख छ । यो आरोप प्रमाणित भए ७५ हजार रुपैंयासम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।