
लखनउ – भारतको उत्तर प्रदेशका पर्यटनमन्त्री बहुगुणा जोशीले पोखरा छिट्टै घुम्न जाने बताएकी छन् । नेपाल पर्यटन बोर्डको सहयोग तथा पश्चिमाञ्चल होटल संघको आयोजनामा भारतमा जारी चलिए पोखरा कार्यक्रम अन्तर्गत लखनउमा भएको कार्यक्रममा उनले पोखराको शुन्दरताको बर्णन सुन्दा आफू निकै मोहित भएको र छिट्टै पोखरा घुम्न जाने बताएकी हुन् ।
उनले भनिन् ‘मैले नेपालको पोखराको शुन्दरताको बारेमा निकै सुनेकी छु । अब आफै पुगेर त्यसको आनन्द लिनेछु ।’ उनले पर्यटनको विकासले नै समृद्धि हासिल हुने भन्दै दुवै दशको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुत बनाएर पर्यटन विकास मार्फत व्यवसायिक उपलब्धी हासिल गर्नुपर्ने बताइन् ।
मन्त्री जोशीले नेपाल र भारतमा रहेका पर्यटकीय स्थल अन्य देशमा नरहेको दाबी गर्दै नेपाल र भारतमा ऐतिहासिक, प्राकृतिक, धार्मिक र साहसीक पर्यटनको प्रचुर सम्भावना रहेको बताइन् । रामायण, महाभारत, बुद्ध, कृष्ण सर्किटलाई जोडेर दुबै देशमा पर्यटन प्रवर्द्धन गर्न सकिने उनको धारणा थियो ।
उनले नेपाल भारत भौगोलीक, सांस्कृतिक, ऐतीहासिक सबै दृष्टिले महत्वपूर्ण रहेको र आफ्नो भ्रमणको प्रारम्भ काठमाडौँबाट भएको स्मरण गरिन् । जोशीले भनिन् ‘ मैले ४० देशको भ्रमण पूरा गरीसकेकी छु, मेरो यात्राको प्रारम्भ काठमाडौँबाट भयो , म निकै खुशी छु ।’ उनले परापूर्व कालदेखिको नेपाल र भारत बीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजानु पर्नेमा जोड दिइन् ।
उत्तर प्रदेशका परिबहन मन्त्री स्वतन्त्र देव सिंहले नेपाल र भारतका बीचमा परिवहन सेवाले दुई देश बीचको पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको बताए । उनले आवश्यक परे पोखराका लागि थप वस सेवा संचालन गर्न सकिने बताए । धार्मिक आस्थाले समेत नेपाल निकै नजिक रहेको बताउँदै उनले पशुपति नपुगे कर्म पुरा नहुने धारणा राखे ।
पूर्वमन्त्री सन्दीप वंसलले आफू ३ पटक पोखरा गएको जानकारी दिँदै वास्तविक सौन्दर्य देख्नु छ भने पोखरा जानु पर्ने बताए । भाजपा उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले पछिल्लो हप्ता पोखरा घुमेर आएको जानकारी दिँदै पोखराको सुन्दरताले मोहित गराएको बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख सूर्य थपलियाले पछिल्लो ६ वर्षदेखि चलेको चलिए पोखरा अभियानले पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । थपलियाले नेपालको पर्यटन विकासकालागि भारत ठूलो बजार रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र जनकपुरको दर्शन गरेपछि भारतीय पर्यटकको नेपाल आवगमन बढेको जानकारी दिए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखराको पर्यटन प्रवर्द्धनमा उत्तर प्रदेश सरकारले चलिए पोखरा अभियानलाई दिएको महत्व प्रति आभार प्रकट गरे । उनले सुन्दर शहर पोखरा पुगेपछि मात्रै त्यसको सौन्दर्यतामा रमाउन सकिने भन्दै लखनउबासीलाई एकचोटि पोखरा पुग्न आग्रह गरे ।